राजविराज- अगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट वितरणमा भेदभाव भएको भन्दै आमरण अनसनमा रहेका राजपा (नेपाल) का नेता लक्ष्मण यादवको अनसन आज पनि जारी छ।
राजपा सप्तरी क्षेत्र नं २ का सभापतिसमेत रहेका यादव नातावाद, पहुँच र व्यक्तिवादका आधारमा पार्टीले टिकट वितरण गरेको भन्दै दुई दिनदेखि आमरण अनसन बसेका हुन्।
जनआन्दोलन र मधेस आन्दोलनका अगुवाइलाई पाखा लगाई नेताहरूले आसेपासे र पहुँचवालालाई टिकट वितरण गरेको आरोप लगाउँदै उनी राजविराजस्थित गजेन्द्र चोकमा अनसनमा बसेका हुन्। उनले सातबुँदे माग अघि सारेका छन्।
२०४८ सालदेखि तत्कालीन सद्भावना पार्टीबाट राजनीतिमा लागेका उनी स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकाको प्रमुख पदका आकांक्षी थिए। 'नेतृत्वले प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनाउने आश्वासन दिएको थियो,' उनले भने, 'तर उनीहरुले पूरा गरेनन्।' रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।