चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम तालमेल देश र जनताको आवश्यकताले बनेको बताएका छन्।
प्रेस चौतारी नेपाल चितवन शाखा र प्रेस सेन्टर चितवन शाखाले आज आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले स्थिर सरकार निर्माण गरी देशलाई समृद्धितर्फ लैजान वाम तालमेल आवश्यक रहेको बताए।
वाम तालमेल मात्रै नभएर वाम एकता र गठबन्धनको पनि प्रक्रिया अगाडि बढेको भन्दै उनले यसमा राजनीतिक र वैचारिक विषय समावेश भएको बताए। 'वाम तालमेल एकतासहितको विशेषता भएकाले स्थानीय निर्वाचनमा भएका जस्तो तालमेल होइन यो,' उनले भने।
पार्टी एकता संयोजन समिति गठन भइसकेको बताउँदै दाहालले वाम तालमेल चुनावी मात्रै नभएर फरक विषय भएको स्पष्ट पारे।
संविधानअनुसार देशमा साना धेरै पार्टी रहने स्थिति नभएको भन्दै उनले ठूला थोरै पार्टी रहने परिकल्पना संविधानले नै गरेको बताए।
चितवन क्षेत्र नं ३ बाट तपाईं विजयी हुने आधार के हो? भन्ने पत्रकारको प्रश्नमा उनले भने, 'यो चितवनका जनताले फैसला गर्ने कुरा हो। मेरो गृह जिल्ला भएको नाताले चितवनका जनताको विश्वास लिएर म देशको नेतृत्व गर्ने तयारीमा छु।'
२०६२ सालमा चितवनको बाँदरमुढेमा भएको घटनाले निर्वाचनमा असर गर्दैन भन्ने प्रश्नमा दाहालले भने, 'शान्ति प्रक्रियापछि मैले माडीका जनता र बाँदरमुढे घटनाका घाइतेलाई भेटेको छु। घटनालगत्तै मैले क्षमायाचना गरिसकेको छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।