काठमाडाैं- राष्ट्रियसभाले 'विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५' पारित गरेको छ।
शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट संदेशसहित प्राप्त 'विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५' लाई बहुमतले पारित गरेको हो।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले 'विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५' लाई पारित गरियोस् भनि प्रस्ताव गरेका थिए।
त्यसअघि विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विधेयकमा प्रतिनिधिसभाबाट केही विषयमा संशाेधन पनि भइआएको र आवश्यक परे भविष्यमा संशाेधन गर्न सकिने भएकाले विधेयक पास गरी सहयोग गर्न आग्रह गरेका थिए।
संयुक्त संसोधनकर्ताको तर्फबाट राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विधेयकमा रहेका प्रावधानले हजारौं नेपालीको रोजी-रोटी खोसिने भन्दै कार्गो सेवालाई पनि विदेशी लगानी आवश्यक नपर्ने सूचीमा राख्नुपर्ने माग गरे। कार्गो सेवा पनि सेवा व्यवसाय भएको र यसमा विदेशी लगानी भित्र्याउँदा स्वदेशी कामदारको रोजी-रोटी खोसिने भन्दै ७ नम्बर अनुसूची थप गरी त्यसलाई समावेश गर्न माग गर्दै उनले संशाेधन दर्ता गराएका थिए।
विदेशी लगानी खुल्ला नगरिएका उद्योग या व्यवसाय भनेर कुखुरापालन, व्यक्तिगत सेवा व्यवसाय, घरजग्गा खरिद-बिक्री लगायत साना उद्योग व्यवसायलाई 'नेगेटिभ लिस्ट'मा राखी ६ वटा अनुसूचीमा उल्लेख गरिएको छ।
राष्ट्रियसभाको अर्को बैठक आगामी आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।