काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडासँग स्विस डेभलपमेन्ड कोअपरेसन एजेन्सीका महानिर्देशक एचई मेनुएल सागेरले शिष्टाचार भेट गरेका छन्।
अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री डा खतिवडाले नेपालको समग्र विकास प्रयासमा स्विस सरकारले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
भेटमा थप सहयोगका क्षेत्रबारे समेत छलफल भएको थियो। विशेषगरी, यातायात तथा सुरुङ मार्ग निर्माणको कार्यमा स्विस सरकारको विशेष दक्षता र अनुभव रहेकोले सो प्रविधिलाई नेपालमा प्रयोग गर्न चाहेको खतिवडाले धारणा व्यक्त गरे।
उनले नेपाल सरकारले प्रस्तावित गरेको दुई सुरुङ मार्गको निर्माणलाई द्रुतगतिमा अगाडि बढाउन स्विस सरकारसँग विशेष आग्रह गरे।
बैठकमा महानिर्देशक सागेरले नेपालले राजनीतिक स्थिरता प्राप्त गर्न सफल भएको तथा नयाँ संविधान कार्यान्वयनको चरणमा भएकोमा खुसी व्यक्त गरे। भेटमा उनले नेपालको भौगोलिक विविधताका कारण प्राप्त गर्नसक्ने लाभका क्षेत्रहरुमा आगामी दिनहरुमा पनि सहयोगको निरन्तरता रहने प्रतिबद्धता जनाए।
भेटवार्तामा स्विजरल्यान्डका नेपालस्थित राजदूत इन्सावेथ भाे क्यापलरको समेत सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।