काठमाडौं- गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-भारत व्यापार र पारवहन सम्बन्धमा बनेको द्विपक्षीय प्रस्ताव आदान-प्रदान (एलओई)लगायतका विषयमा छलफल गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दुई देशबीच हुने व्यापार तथा पारवहन सम्बन्धमा द्विपक्षीय प्रस्ताव आदान-प्रदान गर्न समिति गठन गरिएको जानकारी गराएका हुन्।
वार्ता टोलीले नेपाल-भारत व्यापार पारवहन संशोधन, काकडभिट्टा–बंगलादेशबीचको ट्राफिक आवागमन मोडालिटी सरलीकरण, सिंहनाबाद-रोहनपुरसम्मको पारवहन रेलको सञ्चालन कार्यान्वयन, विशाखापटनम् बन्दरगाह र नेपालसम्मको रेल आवागमनलगायतका विषयमा भारतीय पक्षसँग छलफल गर्नेछ।
नेपाल-भारत पारवहन संशोधनका लागि लामो समयदेखि कुरा चलेपनि त्यसले पूर्णता पाईसकेको छैन। २०६९ पुष महिनामा ७ वर्षका लागि नवीकरण भएको पारवहन सन्धी पुनरवलोकन गर्नुपर्ने र संशोधन गर्नुपर्ने नेपालको धारणा भएपनि हालसम्म कुनै कार्य प्रगति हुन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।