काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी आज जनताको शेयर आवेदन शुभारम्भ गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले १० हजार कित्ता शेयरका लागि आवेदन दिएका हुन्। उनकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिए।
प्रधानमन्त्री ओली यस सेयरका लागि पहिलो आवेदनकर्ता बनेका छन्।
सेयर खरिद गरेपछि प्रधानमन्त्री ओलीले आज नयाँ अभ्यासको थालनी भएको बताए। आम सर्वसारधणलाई यस प्रकारका आयोजनामा लगानी गर्न प्रोत्साहित गर्न आफूले पहिलो सेयर खरिदका लागि आवेदन दिएको उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले मौरीले थोरैथोरै फूलको रस संकलन गरेर धेरै मह जम्मा गरेजस्तै नेपालीको थोरैथोरै लगानीले ठूला आयोजना निर्माण गर्न सकिने बताए।
बहालवाला तथा सेवा निवृत भइसकेका पूर्व शिक्षक,कर्मचारी तथा सुरक्षाकर्मीहरुले पनि यस्ता आयोजनाहरु सञ्चालन गर्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ। 'यो कार्य आफ्नो देश आफैं बनाऔं अभियानको सुरुवात हो,' प्रधानमन्त्री ओलीले भने, 'यसमा सहभागी हुनका लागि विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई म आह्वान गर्दछु। यस्तो अभियानले देशलाई छिटो समृद्धिमा पुर्याउन सकिन्छ।'
यस आयोजनामा शुरुमा शेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ। यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ।
‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ को नारासहित सो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।