काठमाडौं– रघुवीर महासेठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको छ। उनले यस अवधिमा आफूले गरेका कामको प्रगति विवरण सार्वजनिक गरेका छन्।
मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री महासेठले प्रगति समीक्षा सार्वजनिक गरेका हुन्। पूर्वाधारका ठूला आयोजना रहेको तथा अन्य मन्त्रालयको तुलनामा बढी पूँजीगत खर्च गर्नुपर्ने मन्त्रालय भए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट खर्च भने औसत देखिएको छ।
चैत ५ गतेसम्म मन्त्रालयले ३८ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ। तर मन्त्री महासेठले भने अहिले विकास निर्माणको काम भइरहेको भए पनि भुक्तानी नदिएका कारण खर्च कम देखिएको बताएका छन्। यस वर्ष मन्त्रालयले शतप्रतिशत बजेट खर्च गर्ने उनले दावी गरेका छन्।
रेल यातायाततर्फ
मेची–महाकाली विद्युतीय रेलमार्ग (९ सय ४५ किलोमिटर) को विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न भएको छ।
काठमाडौं उपत्यका मेट्रो रेल अन्तर्गत सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक खन्डको १२ किलोमिटरको विस्तृत अध्ययन प्रतिवेदन तथा खोकना–सातदोबाटो र नारायणगोपाल चोक–बुढानीलकण्ठ खन्डको १० किलोमिटरको सम्भाव्यता अध्ययन गर्नका लागि इच्छुक परामर्शदातालाई सूचीकृत गर्नका लागि मूल्यांकन भइरहेको छ।
केरुङ काठमाडौं रेलमार्ग पूर्व सम्भाव्यता अध्ययन कार्यका लागि चीन सरकारको सहयोगमा सम्पन्न भई प्रतिवेदन प्राप्त भइसकेको र विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रक्रिया अगाडि बढिरहेको छ।
वीरगञ्ज–काठमाडौं रेलमार्ग भारत सरकारको सहयोगमा सम्भाव्यता अध्ययन कार्य अन्तिम चरणमा पुगेको छ।
सडक यातायातको अवस्था
नयाँ सरकार गठन भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागबाट ९४ वटा पुल निर्माण भएका छन्।
यस अवधिमा नयाँ र स्तोरन्नति गरी ७ सय ४७ किलोमिटर सडक कालोपत्रे, १ हजार १ सय १८ किलोमिटर सडक ग्राभेल तथा ७ सय २१ किलोमिटर सडकको ट्रयाक खोल्ने काम भएको छ।
राष्ट्रिय गौरवका आयोजनाहरु मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर, हुलाकी राजमार्गमा चालू आर्थिक वर्षका लागि विनियोजन भएको बजेट खर्च भई अर्थमन्त्रालयबाट थप बजेट मागिएको छ।
उत्तर–दक्षिण करिडोर अन्तर्गत कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खन्डको सडक संरचनाको निर्माणका साथै २० किलोमिटर ग्राभेलको काम सकिएको छ।
हुलाकी राजमार्ग अन्तर्गत चालू आर्थिक वर्षको आठ महिना अवधिमा सय किलोमिटर कालोपत्रे, ६७ किलोमिटर ग्राभेल र २ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएकोमा ६९ किलोमिटर कालोपत्रे, १ सय ४० किलोमिटर ग्राभेल र २ वटा पुलको निर्माण कार्य सम्पन्न भएको छ।
त्रिभुवन राजपथ अन्तर्गत थानकोट–नौबीसे खन्डको नागढुङ्गामा २ दशलमब ६० किलोमिटर लामो सुरुङमार्ग निर्माणका लागि जग्गाको निर्धारण भइसकेको छ भने निर्माण व्यवसायी छनोट कार्य अन्तिम चरणमा पुगेको छ।
पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण भइरहेको ७६ दशलमब २ किलोमिटर लामो काठमाडौं–तराई द्रूतमार्गको जग्गा अधिग्रहण र रुख कटान कार्य ९५ प्रतिशत सकिएको छ।
त्रिशुली–स्याफ्रुबेसी सडकको १० किलोमिटर डबल लेनसहित १७ किलोमिटर सडक निर्माण कार्य सकिएको छ।
जाजरकोट–डोल्ला–दुनै सडकको १ सय १७ किलोमिटरमध्ये जाजरकोटको पासगाडदेखि डोल्पाको त्रिपुराकोटसम्मको १ सय ३ किलोमिटर ट्रयाक खोल्ने काम सकिएको छ। कर्णाली करिडोरमा ९५ किलोमिटर ट्रयाक खोल्ने कार्य सकिएको छ।
काठमाडौं उपत्यका सडक विस्तार योजना अन्तर्गत निर्माणाधीन त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकको कालोपत्रे वैशाख मसान्तभित्र र चाबहिल–जोरपाटी–साँखु सडकको कालोपत्रे जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।