काठमाडौं– भनिन्छ नि, भाइ भए भोरस, गाई भए गोरस। भारतका चर्चित उद्योगपति मुकेश अम्बानी र उनका भाइ अनिल अम्बानीको व्यवसायिक जीवनमा पनि यो उक्ति चरितार्थ भयो।
भयो के भने, भाइ अनिल ऋणमा फसेर जेल जाने अवस्थामा उनका दाइ मुकेशले ऋण तिरिदिएर संकटमुक्त बनाइदिएका छन्।
अनिल अम्बानीको दूरसंचार कम्पनी आर कमले एरिक्सनलाई तिर्न बाँकी रहेको ४६२ करोड भारतीय रुपैयाँ दाजु मुकेशले तिरिदिएका हुन्। १९ मार्चसम्म मात्र आजसम्मको भाका दिइएको यो रकम नतिरेको खण्डमा आरकमका अध्यक्ष अनिललाई ३ महिनाको जेल सजाय हुने उच्च अदालतले फैसला गरिदिएको थियो।
यो परिघटना अघिसम्म दाजुभाइबीच खास राम्रो सम्बन्ध थिएन। बाबु धिरुभाइ अम्बानीको शेखपछि आफ्नो आफ्नो व्यवसायमा लागेका यी उद्योगपती दाजु एक अर्कोलाई आफ्नो श्पर्धी ठान्थे।
‘ मेरा दाजु भाउजुले अफ्ठेरो समयमा गरेको मद्दतले परिवारको मूल्यमान्यता तथा महत्वलाई कायम राखेको छ, त्यसका लागि मैले दाइभाउजुप्रति आभार प्रकट गर्छु’, आफूलाई संकट मोचन गरेपछि भाइ अनिलले भनेका छन्, ‘म कृतज्ञ छु।’
संकटको समयमा दाजु मुकेशले एरिक्सनको ५५० करोड रुपैयाँ भुक्तानी गरेपछि सम्बन्धको यो नयाँ शीरा सुरु भएको हो।
यसबाट भाई अनिल जेल जानबाट बचे।
अनिलको नेतृत्वको रिलायन्स कम्युनिकेसन्समा दूरसंचार उपकरण बनाउने स्वीडेनको कम्पनी एरिक्सनको करिब ५५० करोड रुपैयाँ भुक्तानी नगर्दा अनिल समस्यामा परेका थिए।
एक महिनाअघि नै उच्च अदालतले अनिललई चार हप्ताभित्र रकम चुक्ता नगरे जेल अदालतको अवहेलना अन्तर्गत जानुपर्ने आदेश दिएको थियो। यो सीमा मंगलबार सकिँदै थियो।
उच्च अदालतको आदेश अनुसार मंगलबार अन्तिम म्याद रहेको रकम सोमबार नै दाजुले ४६२ करोड रुपैयाँ तिरिदिएपछि अनिल जेल जानबाट जोगिएका छन्।
एरिक्सनका वकिल अनिल खेरले भने ’एरिक्सनलाई ब्याजसहितको पैसा प्राप्त भैसकेको छ। अब आरकम बिरुद्धको इन्सल्वेन्सीको आरोपमा दायर गरिएको रिट हामी फिर्ता लिनेछौं।’
यसकालागि अनिल अम्बानीको कम्पनीले पहिले नै उच्च अदालतमा ११८ करोड रुपैयाँ जम्मा गरिसकेको थियो। २० दिन पहिले उनले ३ करोड रुपैयाँ ब्याज पनि जम्मा गरिदिएका थिए।
इकोनोमिक्स टाइम्सको सामग्रीमा आधारित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।