डडेलधुरा- नेपाली भाषाको उद्गम स्थल एवम् डोटेली राज्यको राजधानीका रुपमा चिनिने डडेलधुराको अजयमेरु गाउँपालिका–२ अजयमेरुकोटमा पहिलो पटक महोत्सव आयोजना हुने भएको छ।
डडेलधुरा सदरमुकाममा पत्रकार भेटघाट कार्यक्रमको आयोजनना गरी पुरातात्विक महत्वको स्थलका रुपमा चिनिएको अजयमेरुकोटमा ‘अजयमेरु महोत्सव २०७६’ आयोजना गर्न लागिएको जानकारी गराइएको हो।
‘कृषि पर्यटन, कला संस्कृति र खेलकुलको विकासमा हाम्रो अभियान, अजयमेरु महोत्सव मार्फत गाउँपालिकाको पहिचान’ भन्ने मूल नाराका साथ गाउँपालिकाको आयोजनमा बैसाख ४ गतेदेखि ८ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक उमेशप्रसाद भट्ट (विकास)ले जानकारी दिए।
पर्यटन प्रवर्द्धन, कृषि, कला, संस्कृति र खेलकुदको विकासका लागि महोत्सव आयोजना गर्न लागिएको उनले बताए। 'गाउँपालिकाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाई गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि लागि महोत्सव आयोजना गर्न लागिएको हाे', अध्यक्ष भट्टले स्पष्ट पारे।
महोत्सवका लागि ५१ सदस्यीय मूल आयोजक समिति बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।