विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका मन्त्री र सचिवहरुसँग कामको मासिक प्रगति माग गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित मन्त्रालयगत चौमासिक प्रगति समीक्षा बैठकमा मुख्यमन्त्री राईले मन्त्री र सचिवसँग कामको प्रगति मागेका हुन्।
‘मन्त्री र सचिवले पाक्षिक रुपमा मन्त्रालयगत समीक्षा गर्नोस्,’ राईले भने, ‘मासिक रुपमा समग्रमा छलफल गरौंला।’
मुख्यमन्त्री राईले नीति, कार्यक्रम र बजेट शीर्षकमा रहेर काम गर्न र अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिए।
‘असारे विकासका लागि पर्खेर बस्नु पर्दैन,’ उनले थपे, 'बलियो इच्छाशक्तिका साथ काम गर्नोस्।'
कर्मचारी समायोजन लगायतका बहानामा मनस्थिति बिगार्नु नपर्ने भन्दै राईले आर्थिक वर्षको बाँकी समय भरपुर उपयोग गर्न निर्देशन गरे।
प्रदेश १ मा हरेक चार/चार महिनामा मन्त्रालयगत रुपमा समीक्षा बैठक हुुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।