काठमाडौं- विवादास्पद व्यापारी अजेयराज सुमार्गीको 'अवैध रकम'बारे चैत २८ गते सर्वोच्च अदालतले फैसला गर्ने भएको छ।
सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगका लागि भनेर आएको शंकास्पद वैदेशिक लगानी इन्भेष्टमेन्ट बैंकबाट झिकिसकेकाले उक्त रकमबारे प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायधीश बमकुमार श्रेष्ठको इजलासले फैसला सुनाउने भएको हो। आज सो मुद्दामा सुनुवाइ सकिएको छ।
गत पुस १० गते तत्कालीन न्यायाधीश दीपकराज जोशीको इजलासले मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम नरोक्नु भनी अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चको अन्तरिम आदेश जारी भएलगत्तै सुमार्गीले करिब २ अर्ब रकम नेपाल इन्भेष्टमेन्ट बैंकबाट पुस २१ गते निकालेका थिए।
उनले रकम झिकेर लगेपछि प्रधानन्यायाधीश राणासहितको संयुक्त इजालासले इन्भेष्टमेन्ट बैंकमै फर्काएर पुरानै अवस्थामा राख्न अर्को आदेश जारी गरेको थियो। राष्ट्र बैंकले पनि इन्भेष्टमेन्ट बैंकलाई पैसा फिर्ता ल्याउन निर्देशन दिएको थियो। तर, सुमार्गीले रकम फर्काएका छैनन्।
त्यसअघि राष्ट्र बैंकले स्रोत नखुलेको भनी रोक्का राखिदिएपछि व्यापारी सुमार्गी मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानीको रकम भन्दै सर्वोच्च पुगेका थिए।
सुमार्गीको खातामा पटकपटक रकम जम्मा हुने भएकाले त्यसैमध्ये २ अर्ब रुपैयाँभन्दा बढी उनले निकालेका हुन्। सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न ४ करोड ५० लाख अमेरिकी डलर (करिब ५ अर्ब रुपैयाँ) खातामा जम्मा पारेका थिए।
खातामा जम्मा भएको रकममध्ये ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५लाख रुपैयाँ) राष्ट्र बैंकले रोक्का गरेको थियो। उद्योगका लागि जम्मा गरेको रकम भुक्तानी दिन बैंकले रोकेकाले उद्योग धरासायी हुन लागेको दाबीसहित उनले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।