काठमाडौं- भारतीय राजदूतावासको आर्थिक सहयोग तथा जिल्ला विकास समिति काठमाडौंको समन्वयमा नेपाल खाद्य संस्थानको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको खाद्य प्रयोगशाला स्थापनाको ४ वर्ष बित्दा समेत सञ्चालनमा आउन सकेको छैन। प्रयोगशाला निर्माणका लागि दूतावासले करिब ५ करोड रुपैयाँ अनुदान रकम सहयोग गरेको थियो।
उक्त प्रयोगशाला निर्माण सम्पन्न भएर दूतावासले नेपाललाई हस्तान्तरण गरेको पनि एक वर्षभन्दा बढी समय भइसकेको छ। तर, प्रयोगशाला सञ्चालनमा भने सम्बन्धित निकायले कुनै चासो देखाएको छैन।
अत्याधुनिक प्रविधिसहितका उपकरणहरुमा खिया लाग्न थालेको छ।
बजारमा आउने खाद्य पदार्थमा मिसावटको अवस्था र गुणस्तर परीक्षणका लागि उक्त प्रयोगशाला निर्माण गरिएको थियो। प्रयोगशालामा एकै ठाँउबाट सबैखालका खाद्यवस्तुको परीक्षण गर्न सकिने गरी दूतावासले उपकरण उपलब्ध गराएको थियो।
खाद्य पदार्थमा हुने विभिन्न प्रकारका विषादी, रासायनिक पदार्थको अध्ययन अनुगमनका साथै खाद्यजन्य रोगव्याधि, मिसावट, दुषित खाद्य पदार्थको प्रभाव तथा विश्लेषण तथा खाद्य स्वच्छता र गुणस्तरसम्बन्धि अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको थियो।
तर, प्रयोगशालाको स्थापनासँगै त्यसको सञ्चालनका लागि चाहिने आवश्यक जनशक्ति, सञ्चालन कार्यविधि बनाउने जस्ता विषयमा पहल हुन सकेको छैन। खाद्य संस्थानले बेच्दै आएको खाद्यान्न वस्तु मात्र नभई निजी क्षेत्रले बेच्दै आएका वस्तुलाई पनि परीक्षण गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको थियो।
खाद्यान्नको गुणस्तर तथा मापदण्ड परीक्षणका लागि हाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग मात्र प्रयोगशाला रहेको छ। विभागसँग रहेको प्रयोगशाला पनि सानो क्षमताको भएका कारण सबैखालका खाद्य वस्तुको परीक्षणमा कठिनाई हुने गरेको छ।
संस्थानसँग खाद्यान्न परीक्षणका लागि आफ्नै प्रयोगशाला नहुँदा गुणस्तर परीक्षणका लागि समय र मूल्य पनि बढी लाग्ने गरेको छ। संस्थानले अहिले खाद्यान्नको परीक्षण गर्न खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागसँग रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालामा पठाउँदै आएको छ।
सञ्चालनको अख्तियारी नपाउँदा समस्या
खाद्य संस्थानले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरेपनि सञ्चालनको अख्तियारी नपाएको र केही नीतिगत समस्याका कारण सञ्चालनमा ल्याउन समस्या देखिएको खाद्य संस्थानको दाबी छ।
अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मात्र खाद्य वस्तुहरुको गुणस्तर जाँच्ने अख्तियारी पाएको छ। संस्थानले प्रयोगशाला सञ्चालनमा ल्याउन तथा खाद्य वस्तुको परीक्षणका लागि अख्तियारीका लागि आपूर्ति मन्त्रालयको स्वीकृति मागेको भएपनि मन्त्रालयले स्वीकृति निदिएको संस्थानका सूचना अधिकारी शंकर सापकोटाको भनाइ छ।
संस्थानलाई गुणस्तर चेकजाँचको कार्य जिम्मेवारी सुम्पिँदा खाद्य स्वच्छतामा सकारात्मक प्रभाव सापकोटाको बुझाई छ।
‘प्रयोगशाला सञ्चालन गर्न हामीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुमति मागेको लामो समय भइसकेको छ। तर मन्त्रिपरिषद्को निर्णयले टुङ्गाउनुपर्ने विषय भएकाले सञ्चालन ढिलो भइरहेको छ,’उनले भने।
प्रयोगशाला सञ्चालनमा ल्याउने अनुमति पाएपनि वस्तु अनुगमन गर्ने, गुणस्तर तथा मापदण्ड निर्धारण गर्ने अनुमति खाद्य संस्थानले पाएको छैन। यसका लागि संस्थानलाई नयाँ कार्यविधि बनाएर जिम्मेवारी तोकिनुपर्ने देखिन्छ।
विश्वमा अस्वच्छ खाद्यवस्तुका कारण वर्षेनी ४ लाख मानिसको मृत्यु हुने गरेको छ। तर नेपालमा भने हालसम्म पनि अस्वच्छ खाद्यान्नका कारण मानव स्वास्थ्यमा पर्न गएको असरबारे अध्ययन हुन सकेको छैन।
प्रयोगशालाको स्थापनापछि सो विषयमा अध्ययनका लागि पनि सहज हुने खाद्य संस्थानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।