मिर्गौला प्रत्यारोपण गरिसकेपछि बिरामीले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ । स्वास्थ्यमा ध्यान नदिएमा बिरामीको स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न सक्छन् । शरीरमा कुनै नयाँ वस्तु राख्दा शरीरले नै त्यसलाई प्रतिकार गर्छ ।
नयाँ मिर्गौला राख्नासाथ शरीरले त्यो आफ्नो हिस्सा नभई बाहिरी वस्तु हो भनी त्यसलाई बहिस्कार गर्न थाल्छ । त्यसैले इमिनिटी पावरलाई कम गरी मिर्गौलालाई नास गर्न नदिन यसलाई व्यालेन्समा राख्नुपर्छ । तर धेरै कमजोर बनायो भने अन्य रोगले आक्रमण गर्ने हुन्छ । यस अवस्थामा रोगबिरुद्ध शरीरले लड्न नसक्ने हुदाँ मिर्गौलाले काम गर्न सक्दैन । मिर्गौला प्रत्यारोपण गर्नासाथ एक महिनासम्म नियमित उपचार गर्नुपर्छ । बिरामीको अवस्था र उमेर अनुसार औषधिको मात्रा फरकफरक हुन सक्छ । कुनै दिन कुनै बिरामीलाई औषधि दिनु नपर्ने पनि हुनसक्छ भने कसैकसैलार्ई बढी मात्रामा दिनुपर्ने हुन्छ ।
प्रत्यारोपण गरिएको मानिसको रोग प्रतिरोध क्षमता कम गराइएको हुनाले संक्रमण पनि हुनसक्छ । यस्तो अवस्थामा एउटा सामान्य व्यक्तिलाई असर नगर्ने संक्रमणले प्रत्यारोपण गरेको व्यक्तिलाई तुरुन्तै आक्रमण गर्नसक्ने हुँदा बिरामीले बिशेष ध्यान दिनुपर्छ । बिशेषगरी रूघाखोकी लागेको व्यक्तिदेखि टाढा रहने गर्नुपर्छ । यो अवस्थामा बासी र सडेगलेको खाना खानु हुँदैन । किनभने यस्ता खानाले पखाला तुरुन्तै लाग्ने संभावना बढी हुन्छ । त्यसैगरी धेरै धुलोमा नबस्ने, बाहिरको खाना नखाने र सडेगलेका वस्तु भएको ठाउँमा सकेसम्म नजाने गर्नुपर्छ । यो अवस्थामा जनावरहरुबाट पनि चाँडै इन्फेक्सन हुने हुदाँ घरपालुवा जनावरसँग टाढै रहनुपर्छ र आफ्नो दैनिक स्वास्थ्यमा पनि बिशेष ध्यान दिनुपर्छ । प्रत्येक दिन नुहाउने गरी सधैं हात सफा राख्नुपर्छ ।




यस्तो अवस्थामा औषधि सेवनले मधुमेह बढाउने हुँदा गुलियो धेरै खानु हँुदैन । यो औषधिको सेवनका कारण निस्कने मधुमेह हो । विशेषगरी औषधिको मात्रा धेरै हुनाले यस्तो हुनसक्छ । गुलियो खाना कम गर्नुका साथै नियमित रुपमा व्यायाम गर्नुपर्छ । औषधि सेवनका कारण खानामा रुची बढ्न गइ तौल बढ्न सक्छ । त्यसैले तौलमा पनि नियन्त्रण गर्नुपर्छ । औषधिको कारण रक्तचाप बढ्ने हुदाँ चिल्लो र नुनिलोको मात्रा पनि कम गर्नुपर्छ ।
बिरामीले आफ्नो स्वास्थ्यलाई असर गर्छ भन्ने सोचेर छुट्टै कोठामा दिनभरी बस्ने गर्नु हँुदैन । बिस्तारै विरामीले मैले नयाँ जीवन पाएको छु भन्ने सोच्ने र आशावादी हुने गर्नुपर्छ । मनमा नानाथरी नकारात्मक कुरा खेलाएर बस्नु हुँदैन । व्यक्ति आफ्नो सामान्य जीवनमा फर्कन सकोस् भनेर मिर्गौला प्रत्यारोपण गरिन्छ । त्यसैले शारीरिक स्वास्थ्यमा विशेष ध्यान दिई सन्तुलित भोजन गर्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्नुपर्छ । आफूखुसी औषधि छाड्ने र खाने गर्नु हुँदैन । सुत्ने र उठ्ने समय नियमित हुनुपर्छ ।
प्रत्यारोपण गरिसकेपछि बिरामीले जीवनभर औषधि सेवन गर्नुपर्ने हुन्छ । विस्तारै औषधिको मात्रा पनि कम हुँदै जान्छ । कुनै अवस्थामा औषधि सेवन नगरे पनि हुने अवस्था आउँछ तर यो सबै बिरामीमा चाहिँ हुँदैन । त्यसैले नियमित रुपमा चिकित्सकसँग सल्लाह लिनु पर्छ । सामान्यतयाः अन्य चिकित्सकले दिएको औषधि पनि आपूmले जाँच गरिरहेको फिजिसियनसँग सल्लाह लिएर मात्रै खानुपर्छ ।
प्रत्यारोपण गरेका मानिसमा विभिन्न औषधिले नकारात्मक असर पनि पर्नसक्छ । किनकि त्यो व्यक्तिमा कुन औषधिले नकारात्मक असर गर्छ भन्ने कुरा नियमित जाँच गरिरहेको फिजिसियनलाई थाहा हुन्छ । कतिपय औषधिले त पुनः मिर्गौला नै खराब गर्ने संभावना पनि हुन्छ । मिर्गौला प्रत्यारोपण गरेपछि असरको आधारमा सेवन गरिरहेको औषधिको पनि मात्रा घटबढ गर्नुपर्ने हुनसक्छ । औषधि सन्तुलन नमिलाउँदा मिर्गौलाले काम नगर्ने हुनसक्छ । त्यसकारण नियमित जाँच गर्नुपर्छ । प्रत्यारोपणपछि छालासम्बन्धी संक्रमण भने सामान्य हुन्छ । त्यसैले प्रत्यारोपण गरेका बिरामीले सरसफाईमा सधैं ध्यान दिनुपर्छ । यस्ता व्यक्तिले काँचो खानेकुरा, जमिन मुनीका जस्तै गाजर, मुला आदि खाँदा राम्रोसँग सफा गरेर मात्र खानुपर्छ ।
प्रत्यारोपणपछि पनि पुराना रोगले पुनः आक्रमण गर्नसक्छ । जसमा नेफ्राइटिस रोग फर्कने सम्भावना हुन्छ । नेफ्राइटिस भनेको पिसाबमा प्रोटिन चुहिने रोग हो । कडा खालको नेफ्राइटिसले मिर्गौलालाई नै खराव पार्छ । त्यो रोग कहिले काहीँ नयाँ मिर्गौलामा पनि फर्कन सक्छ । मिर्गौला प्रत्यारोपणपछि बिरामीले खाने कुरा धेरै बारेको पाइन्छ । तर शरीरलाई प्रोटिनको पनि आवश्यकता पर्ने हुनाले सन्तुलित भोजन गर्ने अवस्था भने सधैं रहनुपर्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।