काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज अर्जेन्टिना जाँदै छन्। यही चैत ६ देखि ८ गतेसम्म अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा हुने 'दक्षिण–दक्षिण सहयोग'सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री ज्ञवाली त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
सम्मेलनको पूर्ण बैठकमा मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहयोगसम्बन्धी नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवम् दिगो विकासका चुनौती र अवसर विषयमा मन्तव्य दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घीय अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख साना टापु राष्ट्र (युएन ओएचआर एलएलएस)ले ती राष्ट्रलाई दिगो विकासको मार्गमा अग्रसर हुन दक्षिण–दक्षिण र त्रिपक्षीय सहयोग प्रवर्द्धनका सन्दर्भमा आयोजना गर्ने छलफलमा मन्त्री ज्ञवालीले प्रमुख वक्ताका रुपमा पनि भाग लिने कार्यक्रम छ।
चैत ७ गते अर्जेन्टिनाका विदेशमन्त्रीले एसियाली मुलुकका अधिकारीसँग आयोजना गर्ने उच्चस्तरीय बैठकमा मन्त्री ज्ञवाली सहभागी हुनेछन्। त्यहाँ रहँदा उनले विभिन्न मुलुकका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेकाे मन्त्रालयले जनाएकाे छ।
मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा ब्राजिलका लागि नेपालका राजदूत ताराप्रसाद पोखरेल र परराष्ट्र मन्त्रालयका एक जना अधिकारी रहनेछन्।
उनी चैत ९ गते स्वदेश फर्कने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।