कञ्चनपुर- जातीय छुवाछूत अन्त्यका लागि होमराज आचार्य र अशोक दर्नालले कञ्चनपुरको भीमदत्तनगर बजारको मदन चोकबाट आइतबारदेखि ‘नेपाल पैदलयात्रा २०७५’ सुरु गरेका छन्।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले पैदलयात्राका सहभागीलाई फूलमाला र खादा ओढाइ ब्यानरमा हस्ताक्षर गरेर यात्रा शुभारम्भ गरेका थिए।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले जातीय छुवाछूत अन्त्यका लागि पैदल यात्रमामा सहभागी दुबैलाई स्वागत गर्दै व्यावहारिक रुपमा जातीय छुवाछूत अन्त्यका लागि आफूहरू पनि प्रतिबद्ध रहेको बताए। यात्रामा सहभागी हुने आचार्य र दर्नाललाई बाजागाजासहित भीमदत्तनगर बजार परिक्रमा समेत गराइनुका साथै वेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले स्वागत गरेका थिए।
सामाजिक न्यायका लागि पश्चिमको कञ्चनपुरबाट सुरु गरिएको पैदलयात्रा ४५ दिन लामो हुनेछ। १ हजार ३ सय २१ किलोमिटर पैदलयात्रा गरी गाउँ-गाउँमा पुगेर विभेदबारे सचेतना फैलाउने र विभेद गरिनाको कारणबारे स्थानीय बासिन्दासँग छलफल गरिने जनाइएको छ। पदयात्राको क्रममा सामान्य नागरिकदेखि, गाउँपालिका प्रमुख, प्रशासन विद्यालय, सार्वजनिक ठाउँमा पुगेर जातीय उत्पीडनमा परेकाको कथा सुन्दै जनचेतना जगाइने पैदलयात्रीद्वयले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।