म्याग्दी- जिल्लाका ३१ विद्यार्थी आगामी हप्तादेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुनबाट वञ्चित भएका छन्।
७५ प्रतिशत हाजिरी नपुगेका कारण परीक्षाका लागि आवेदन फारम भरेकामध्ये ३१ परीक्षा दिन अयोग्य भएका जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ। एकाइका प्रमुख केशवप्रसाद बुढाथोकीका अनुसार विद्यालय छाडेका र नियमित हाजिरी नभएका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन्।
वञ्चित हुनेमध्ये ५ जना धौलागिरि गाउँपालिका–२ को लमसुङ माविका छन् भने प्रकाश माविमा सञ्चालित खुला विद्यालयबाट एसइईका लागि आवेदन फारम भरेका ३० मध्ये पाँच जनाको पनि हाजिरि नपुगेकाले अयोग्य भएका छन्।
एसइईमा म्याग्दीबाट १ हजार १ सय ११ छात्रा र १ हजार १ सय ३१ छात्र गरी कूल २ हजार २ सय ४२ परीक्षार्थी सहभागी हुने उक्त एकाइ प्रमुख बुढाथोकीले बताए। तीमध्ये दुई दृष्टिविहीन विद्यार्थी पनि छन्।
यसैगरी गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परीक्षाको समयमा महीनावारी हुने छात्राको सहजताका लागि म्याग्दीसहित प्रदेशका २ सय १७ वटा परीक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाएको छ।
कूल छात्रा सङ्ख्याको १५ प्रतिशतका लागि आवश्यक सेनेटरी प्याड खरिद गर्न रकम उपलब्ध गराइएको उक्त मन्त्रालयका अधिकृत विष्णुमाया पौडेलले बताइन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।