एजेन्सी - सामाजिक सञ्जाल फेसबुकका विज्ञापन विभाग उपाध्यक्ष रब गोल्डम्यानले फेसबुक प्रयोगकर्ताको वार्तालाप सुनेर त्यसै अनुसार विज्ञापन पठाएको आरोप अस्विकार गरेका छन्। फेसबुकमाथि सञ्जालको माइक्रोफोनबाट आफ्ना प्रयोगकर्ताको वार्तालाप सुनेको आरोप लागेको थियो।
एउटा प्रविधि पडकास्ट रिप्लाई अलका प्रस्ततुकर्ता पिजे भोग्टले वार्तालाप सुनेको भनि गरेको ट्विटको जवाफ दिँदै गोल्डम्यानले आरोप अस्विकार गरेका हुन् । सञ्जालका धेरै प्रयोगकर्ताले वास्तविक जीवनमा तत्काल गरेका कुराकानीसँग सम्बन्धित विज्ञापन फेसबुकमा आउने गरेको बताएका थिए । भोग्टले यसरी वास्तविक कुराकानीसँग मिल्दाजुल्दा आएका विज्ञापनको विस्तृत विवरण दिन फेसबुकसँग आग्रह गरेका थिए।
‘म फेसबुकको विज्ञापनका उत्पादन हेर्छु,’ उपाध्यक्ष गोल्डम्यानले ट्विटको जवाफमा लेखेका छन्, ‘हामी विज्ञापनका लागि तपाईंको डिभाइसको माइक्रोफोन अहिले र कहिल्यै पनि प्रयोग गर्दैनौं । हामीले वार्तालाप सुन्ने गरेका छैनौ, यो हल्ला मात्र हो, सत्य होइन।’
अर्का फेसबुक प्रयोगकर्ताले गोल्डम्यानलाई के त्यसो भए इन्स्टाग्रामले चैं सुन्छ त भनेर सोधेका थिए । इन्स्टाग्राम पनि फेसबुककै स्वामित्वको सामाजिक सञ्जाल हो । त्यसको जवाफमा भने गोल्डम्यानले हो भनेका थिए।
भोग्टले यससम्बन्धी गरेका सयौं ट्विटको उत्तर गोल्डम्यानले दिएका थिए । फेसबुकले आफूले कहिल्यै यस्तो काम नगरेको गत वर्ष आफ्नो वेबसाइटमा उल्लेख गरेको थियो । उसले वेबसाइटमा लेखेको थियो, ‘हामी सर्वसाधारणको रुची र प्रोफाइलमा उल्लेख सूचना जानकारीका आधारमा विज्ञापन देखाउँछौं।’
सैद्धान्तिक रुपमा सामाजिक सञ्जालमा आउने विज्ञापन र सञ्जालका प्रयोगकर्तासँग मिल्दाजुल्दा हुने संयोगवश मात्र भएको बताइन्छ । किनभने यसअघि सामाजिक सञ्जालमा आउने विज्ञापन र वास्तविक कुराकानीबीच कसैले पनि ध्यान दिएको थिएन।
‘तपाईं कुनै घटना निश्चित रुपमा घट्ने सम्भावनाको कुरा गर्नुहुन्छ भने,’ लन्डनस्थित इम्पेरियल कलेजका गणितका प्रोफेसर डेभिड ह्यान्डले भने, ‘अत्यन्त न्यून सम्भावना हुन्छ ।’
गत वर्ष बेलायती सञ्चारमाध्यम बिबिसीले केही स्मार्टफोनले प्रयोगकर्ताको वार्तालाप सुने÷नसुनेकोबारे छानबिन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।