काठमाडौं- सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति संस्थापन इतर समूहका नेताले असन्तुष्टि जनाउन थालेपछि विवाद मत्थर गर्न सभापति देउवाले बोलाएको नेपाली कांग्रेसका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको छ।
सभापति निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठक बिना निष्कर्ष समापन भएको हो।
'अनुशासन समिति र निर्वाचन समिति न्यायिक समिति भएकाले व्यापक छलफल गरी टुंग्याउन हामीले जोड गरेका छौं। तर बैठकमा कुनै पनि निष्कर्ष निस्कन सकेन,' बैठकपछि बाहिरिएका नेता अर्जुननरसिंह केसीले नेपाल लाइभसँग भने।
आगामी सोमबार केन्द्रीय समिति बैठक बस्नुअघि पूर्व र वर्तमान पदाधिकारीको बैठक पुनः बस्ने गरी आजको बैठक सकिएको हो।
उपत्यका बाहिर रहेकोले नेता कृष्ण प्रसाद सिटौला बैठकमा उपस्थित नभएको बताइएको छ।
सभापति देउवाप्रति असन्तुष्ट बनेका नेताहरुले सोमबार बोलाइएको केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने चेतावनी दिएका थिए।
अनुशासन र निर्वाचन समिति गठन गर्ने प्रक्रियामा देउवा लागेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूह उनको कार्यशैलीप्रति असन्तुष्ट छन्।
फागुन १४ मा संस्थापन इतर समूहका नेताले बैठक बहिष्कार गरेपछि केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन।
त्यसअघि महासमितिको निर्णयविपरीत विधानलाई केन्द्रीय समितिको बहुमतबाट पारित गरेपछि दर्जन बढी नेताले लिखित असहमति पेस गरेका थिए।
संस्थापन समूहले बिना छलफल एकलौटी तरिकाले पार्टी सञ्चालन गरेको भन्दै इतर समूहका नेताहरु दुई साताअघि सामूहिक छलफलमा जुटेका थिए।
नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको बैठकले संस्थापन पक्षले एकतर्फी निर्णय गरेको भन्दै केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने तयारी गरेपछि देउवाले शीर्ष नेतालाई बैठकका लागि आफ्नै निवासमा बोलाएका थिए।
खाली रहेका समितिलाई पूर्णता दिनुअघि छलफल हुनुपर्ने संस्थापन इतर समूहको जोड छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।