विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन्।
विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताए।
'जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो– सरकारले चिन्दैन', प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै प्रतिबन्ध लगाइएको बताए। विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन प्रधानमन्त्रीले नेताहरुलाई आग्रह गरे।
'नेपालका नेताजीहरुलाई आग्रह गर्न चाहन्छु, आफैँलाई जवाफ दिन नसक्ने कुराहरु नगर्नुहोस्, उनको पार्टी कहीँ दर्ता भएको थियो र? दर्ता छैन। नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो', उनले भने, 'बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने। बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी? गम्भीर राजनीति गर्नुपर्छ।'
प्रधानमन्त्री ओलीले संविधान विपरीत, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने बताए। उनको प्रश्न थियो– 'नेपालमा शान्ति चाहियो कि चाहिएन? वार्ता समिति बनाएको हो, गर्दिन भनेको होइन? सभ्य समाजले सुन्न सक्ने माग छ? के–के माग छ? सुन्न सक्ने छन्?'
प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताए। 'एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो', उनले भने, 'पुनर्गठन हुँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।