ग्यास्ट्राइटिसको समस्यामा पेटमा ग्यास बन्छ । यस्तो अवस्थामा फेट फुल्छ र पीडा हुन थाल्छ । यसैले सबैभन्दा पहिला कस्तो खाद्यपदार्थ लिनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । अर्थात् कुनै खानाका कारण ग्यास बढेको छ भने त्यस्तो खाना तुरुन्त बन्द गर्नुपर्छ ।
ग्यास बनाउने खाद्यपदार्थ नखानुस् : ग्यास्ट्राइटिस समस्याको सबैभन्दा ठूलो कारण हो, ग्यास बनाउने खालका खानेकुरा । केक, कार्बोनेटयुक्त सामग्री, अमिलो फल, काउली, बन्दा, सुपारी पेटमा ग्यास बनाउने खालका खाद्यपदार्थ हुन् । ग्यास बन्ने अर्को कारण हो, लामो समयसम्म भोको रहनु ।
समयमा खाना खाने गर्नुहोस् : नियमित रुपमा खाना खाने बानी गर्नाले ग्यास्ट्राइटिसको समस्या समाधान हुन सक्छ । बिहान नास्ता पनि नगर्नु र दिउँसो एकसाथ खाना खानु गलत बानी हो । यसले ग्यास्ट्राइटिसको समस्या उत्पन्न हुन्छ । यसबाट बच्न नियमित रुपमा खाना खानुपर्छ । खाना खाँदा चपाएर मात्र खानुपर्छ ।
कम मसालेदार खाना : बढी तेल र मसाला मिसाएको खाना पनि ग्यास्ट्रिकको कारण हुन सक्छ । यसैले यस्ता कुरा मिसाइएको खानेकुराबाट बच्नुहोस् । खानामा सधैं हरियो तरकारी सामेल गर्नुहोस्, पेट पूरै भरिनुभन्दा खान मन लाग्दालाग्दै उठ्नुहोस् । यसबाट खाना राम्ररी पच्छ । साथै ध्यान दिनुहोस्, खाना खाएको आधा घण्टापछि मात्र पानी पिउनुहोस् ।
रक्सीबाट बच्नुहोस् : बढी रक्सी पिउने बानीले ग्यास्ट्रिकको समस्या बढाउँछ । यद्यपि रक्सीमात्र यसको मुख्य कारण होइन । तर, रक्सी नखाँदा या यसको सेवन सीमित गर्नाले भविष्यमा हुने ग्यास्ट्राइटिसबाट बच्न सकिन्छ ।
थोरै खानुहोस्, नियमित खानुहोस् : ग्यास्ट्रिकको समस्या पेटसंग सम्बन्धित समस्या हो । त्यसैले पेटलाई आराम दिन थोरै खाने बानी गर्नुपर्छ । धेरै खानाले पनि ग्यास्ट्रीकको समस्यालाई असर गर्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।