चेन स्मोकर भए पनि अभिनेता शाहरुख खानले चुरोटका कारण आफ्नो फिटनेसमा कुनै असर पर्न दिएका छैनन्। फिल्म ‘ओम शान्ति ओम’को ‘ओ हसिना तू नीलमपरी’ बोलको गीतमा शाहरुखले आफूलाई कँसिलो ज्यानमा प्रस्तुत गरेर उमेर घर्किँदै गए पनि बडी म्यान्टेन गर्ने सवालमा आफू तन्नेरी नै भएको जनाउ दिइसकेका थिए।
फिल्म ‘ह्यापी न्यू इयर’मा ‘एट प्याक एब्स’सहित देखा परेपछि शाहरुख बलिउडका फिट अभिनेताको शीर्ष समूहमा पर्न थालेका छन्। विगत दुई दशकयता शाहरुखले फिटनेसलाई प्राथमिकतामा राखेका हुन्। केही वर्षयता उनी यसप्रति अझ बढी सचेत भएका छन्। शाहरुखले यस्तो भव्य ज्यान कसरी बनाए? भन्नेमा धेरैलाई कौतुहल छ। तर, मेहनत गरे आफूले जस्तै ज्यान बनाउन अप्ठ्यारो नहुने शाहरुख बताउँछन्।
सिक्स प्याक बनाइसकेपछि ‘ह्याप्पी न्यू इयर’मा आफूले जस्तै एट प्याक एब्स बनाउन अप्ठ्यारो नहुने शाहरुखको भनाइ छ। यसका लागि उपयुक्त खान्की, सही अभ्यास र धैर्यताको ‘कम्बिनेसन’ आवश्यकता पर्ने उनी बताउँछन्। छ महिनासम्म कडा मेहनत गरेर शाहरुखले ‘एट प्याक एब्स’ बनाएका थिए। तर, सबैले यति सजिलै यो उपलब्धि हासिल गर्न नसक्ने विज्ञहरूको भनाइ छ।
कुनै समय शाहरुखका प्रशिक्षकले उनको ज्यान एथलेटजस्तै रहेको र उनले अनुशासन पालना र अभ्यासमा ध्यान दिएकाले यस्तो उपलब्धि हासिल भएको बताएका थिए। ‘ह्याप्पी न्यू इयर’का लागि ज्यान बनाउँदा शाहरुख सातामा पाँच दिन कडा शारीरिक अभ्यास गर्ने गर्थे। प्रतिदिन करिब डेढ घण्टा अभ्यास गर्थे। बिहान दुई बजे उठेर अभ्यास गर्ने, सधँै पोसिलो र स्वास्थ्यकर खाना खाने गर्थे। कुनै बेला हकी र फुटबल खेल्ने गरेकाले उनको ज्यान एथलेटकोजस्तो भएको हो।
त्यतिबेलाको खेल जीवनले अहिले पनि शाहरुखलाई ज्यान बनाउन र म्यान्टेन गर्न सजिलो परिरहेको छ। खानपिनमा शाहरुख कहिल्यै पनि ‘कम्प्रोमाइज’ गर्दैनन्। उनी दिनहुँ अण्डा, दुई पिस ब्राउन ब्रेड, कफी, चिकेन स्यान्डविच, सलाद, अण्डाको सेतो भागको अमलेट, सखरखण्ड, ग्रिल्ड माछा र ग्रिल्ड चिकेन खाने गर्छन्। विशेष ज्यान बनाउन भने उनी प्रोटिनयुक्त पाउडर पनि दिने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।