बलिउडकी अब्बल अभिनेत्री, असल आमा र कुशल पत्नीमा गनिन्छिन्, काजोल । अजय देवगनकी पत्नी काजोल दुई बच्चाकी आमा हुन् । जेठी सन्तान हुन्, छोरी न्यासा, जो छोरो युगभन्दा सात वर्ष जेठी छिन् । दुई सन्तान पाएर पनि आफ्नो फिटनेस र अनुहारको कान्ति नगुमाएकी काजोल अहिले बलिउडमा भव्य ‘कमब्याक’ गर्ने तरखरमा छिन् । उनको पछिल्लो फिल्म ‘माई नेम इज खान’लाई दर्शकले खूब रुचाएका थिए ।
करिअरको उत्कर्षमा पुगेको बेला बिहे गरेकी काजोल त्यसपछि गुमनामजस्तै भएकी छिन् । उनले त्यही अवस्थामा छोरी न्यासालाई जन्म दिइन् । ‘त्यसपछि म टेलिभिजनमा देखिन थालेँ, केही विज्ञापनमा पनि काम गरेँ । त्यसअघि म सन्तानको हेरचार र घरगृहस्थीमै रमाइरहेकी थिएँ,’ काजोल भन्छिन् । बाबुभन्दा आमालाई परिवारमा बढी सहज हुने काजोलको भनाइ छ ।
‘आमाको भूमिका सुरुमै प्रस्ट हुन्छ, तर बाबुले आफ्नो भूमिका कस्तो हुने भन्ने आफैँ तय गर्नुपर्छ,’ उनी भन्छिन् । आमा बन्न स्वीकार गर्नु भनेको नयाँ अनुभूति र चुनौती स्वीकार गर्न आफूलाई तत्पर बनाउनुसरह रहेको उनको भनाइ छ । सन्तान जन्माएपछि आफ्नो जीवनमा कत्रो आमूल परिवर्तन आउँछ भनेर महिलाले त्यसअघि कल्पना पनि गर्न नसक्ने उनी बताउँछिन् । ‘पहिलोपल्ट गर्भ बसेको थाहा पाउँदा म साँच्चीकै आत्तिएकी थिएँ, जीउ लल्याकलुलुक भएको थियो ।
आमा बन्ने चरणसम्म पुग्छु कि पुग्दिनँ भन्नेमा पनि मलाई सन्देह थियो । तर, बिस्तारै सबै कुरा सामान्य बन्दै गयो,’ उनी भन्छिन् । गर्भवती महिला देवी हुन् भन्ने लाग्थ्यो काजोललाई । ‘तर, आफँै गर्भवती भएपछि मैले आफूलाई देवीको आसनमा राख्न सकिनँ । यो त्यति ठूलो कुरा पनि होइन रहेछ,’ काजोल भन्छिन् । गर्भवती भएपछि श्रीमान्, आमा र बहिनीले आफूलाई असाध्यै साथ दिएको उनी बताउँछिन् । ‘यस्तो साथले नयाँ चुनौतीको सामना गर्ने सामथ्र्य बढाउँदो रहेछ,’ उनी भन्छिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।