३० वर्षीया रमा बारम्बार टोलाइरहन्छिन् । उनका मनमा अनौठा सोचाइहरु आइरहन्छन् । जब घरायसी काम गर्न खोज्छिन्, तब यस्ता अनौठा सोचाइका तस्बिर मनमा आई सताउने गर्छन् । उनलाई थाहा छ, यो सोचाइको तस्बिर आफ्नै हो तर उनी यसलाई नियन्त्रण गर्न सक्दिनन् ।
मनमा अशान्ति पैदा गर्छिन् । उनी मनबाट यस्ता कुरा हटाउन खोज्छिन् तर गाह्रो पर्छ ।
उनी लुगा धुन, नुहाउन पानीमा जानै हुँदैन । उनी त्यहाँबाट उम्कन सक्दिनन् । पानीसँग जोडिएको यो मनरोग अनौठो हुन्छ । जब उनी लुगा धुन जान्छिन्, तब उनले त्यहाँ घण्टाँै विताउनुपर्ने हुन्छ । जब लुगा धुँदै जान्छिन् । मनमा सोचाइ आउँछ– लुगा अझै सफा भइसकेको छैन । अझै दसपटक पखाल्नुपर्छ भनी पखाल्न सुरु गर्छिन् । यसरी गन्दै दसपटक पु¥याउँछिन् । केही छिन आनन्दको श्वास फेर्छिन् । फेरि सोचाइ दोहोरिन्छ अनि छट्पटाउँछिन् । त्यसो त लुगा धुने, नुहाउने, हात धुने, घर सफा गर्ने, ढोकामा चुकुल लगाउने, पैसा गन्ने आदि समयमा पनि यस्ता समस्या आउँछन् ।
रमाजस्ता समस्या भएका धेरै मानिस छन्, जसलाई यो रोग हो, होइन भन्ने थाहा छैन । जब यस्तो समस्या चरम उत्कर्षमा पुग्छ, तब डाक्टरकहाँ पुग्छन् । यस्तो समस्यालाई अब्सेसिभ कम्पलसिभ डिस्अर्डर भनिन्छ । यस्ता अनौठा सोचाइ, तस्बिर, शंका पैदा हुँदा बिरामी आत्तिने गर्छन् । किताब पढिरहँदा सिनेमाका दृश्यहरु मनमा आइरहने र पढाइमा ध्यान कम हुने भइरहन्छ । अग्लो पहाड या पुलमा जाँदा अचानक शंका उब्जिन्छ र हामफालुँजस्तो हुन्छ । त्यसो त मनमा हामफाल्नु हुदैन झन् खतरा हुन्छ भन्ने पनि थाहा छ तर यस्ता अनावश्यक सोचाइले गर्दा बिरामीमा छटपटी पैदा हुन्छ, के गरौं जस्तो हुन्छ र कहिलेकाहीँ चिच्याउने पनि गर्छन् ।
घरमा खुकुरी, चक्कु वा बन्दुक नजिकै बस्दा मनमा शंका पैदा हुन्छ । खुकुरीले आफूलाई हानिन्छ वा अरुलाई हानिन्छ । त्यस्तो गर्नु हँुदैन भन्ने थाहा छ, तैपनि यस्तो शंका उपशंका मनमा उत्तेजित भइरहन्छन् । कुनै अशुभ घटना हुने हो कि ? त्यसैले बिरामी यस्तो ठाउँमा बस्न रुचाउँदैनन्, त्यो ठाउँ छाडेर हिँड्छन् । यो त केवल मनको हुरी मात्र हो । सँगै बस्ने साथीलाई समेत थाहा हँुदैन । यो एक्लै हुँदा आउने मनोवैज्ञानिक समस्या हो ।
अब्सेसिभ कम्पलसिभ डिस्अर्डर बिरामीको मनको सोचाइको सीमै हुँदैन । मन्दिरमा गएर देवताका बारेमा नराम्रो सोचाइ, शंका, उपशंका आउनेदेखि लिएर आकाश किन नीलो हुन्छ भन्नेसम्मका अत्यन्तै विचित्रका सोचाइ दिमागमा जबरजस्ती पस्छन् । जसबाट बिरामी यस्ता सोचाइ हटाउन केही काम गर्नुपर्ने हुन्छ । प्रायः यस्ता बिरामी मन्दिरमा गई धेरैबेर बस्न सक्दैनन् । जब सोचाइ चरमोत्कर्षमा पुग्छ, तब मन्दिरबाट बाहिर निस्किन्छन् ।
आकाशमा हेरिरहन सक्दैनन्, हतियारनजिक बस्न नसकी अर्को ठाउँमा पुग्छन् ।
कतिपय दिनभर जुत्तामोजा लगाउँदैमा बिताउँछन् । जाडो महिनामा नुहाउन बाथरुम जाँदा घन्टौंसम्म नुहाइरहन्छन् । टाउको र शरीर चिसो भइसक्दा पनि पानीबाट बाहिर निस्कन सक्दैनन् । कहिलेकाहीँ त एक्कासी चिच्याउने गर्छन् । हात धुने सोचाइ आउने र यो कार्य दाहोरिँदा हात रातो हुन जान्छ । यसरी पानीबाट बाहिरिन अत्यन्तै गाह्रो हुने प्रायः पानीमै खेलिरहने हुनाले यस्तो रोगलाई पानी बहुलाहा अथवा पानी मनोरोग पनि भनिन्छ ।
३० वर्षका प्रकाश किसान हुन् । एक वर्षयता उनको मनमा एउटै विचार दोहोरिरहन्छ । सुत्न लाग्दा मूल ढोकामा चुकुल लगाएको, नलगाएको बारेमा शंका उठ्छ । छट्पटीमा परी हेर्न जान्छन्, हेर्दा चुकुल लगाइसकेको देख्छन् । फेरि त्यही कुरा दोहोरिरहन्छ । यस्तै खाना खाएपछि या दिसासपिसाब गरेपछि ३०—४० पटक म्म हात धुनुपर्छ । उनको मनमा विचार आउँछ, हात फोहोर छ अनि हात धुन्छन् । त्यसबाट केही क्षण छुटकारा मिल्छ अनि फेरि उही सोचाइ आउँछ र पटकपटक हात धुन्छन् । यसरी धेरैपटक हात धुँदा हात नै सुन्निन्छ ।
यस्तै बाटोमा हिँड्दा फोहोर वस्तु देख्छन् र डराउँछन् फोहोर वस्तु खाइएला भनेर । उनलाई थाहा छ, फोहोर वस्तु खानु हुँदैन । तर खाऊँ खाऊँजस्तो बनाउने डरले त्यहाँ बस्न सक्दैनन् । त्यस्तै यौन विचार आउनाले आफ्ना नातेदार केटीछेउ बस्न सक्दैनन् । उनलाई थाहा छ, आफ्नो सोचाइ गलत र सेन्सलेस हो तर त्यसवाट छुटकारा पाउन सक्दैनन् । यस्तो समस्या पनि अब्सेसिभ कम्पलसिभ डिस्अर्डर हो ।
यो एउटा यस्तो रोग हो जसमा वारम्वार विचार, सोचाइ, दृश्य दिमागमा आइरहँदा छटपटी हुन्छ । बिरामीलाई यो हटाउन चाहँदा चाहँदै पनि दिमागमा आई सताउने गर्छ । यो हटाउन बिरामीलाई कुनै क्रियाकलाप गर्नुपर्ने हुन्छ । जस्तै ः हात धुने, चुकुल लगाए, नलगाएको चेक गर्ने आदि ।
त्यसपछि यसबाट क्षणिक फाइदा हुन्छ तर फेरि दोहोरिरहन्छ ।
यो रोग लागेका कति बिरामीमा डिप्रेसनका लक्षण पनि पाइन्छन् । यो रोगका बिरामी मनभित्र अनेकौं सोचाइबाट ग्रसित हुन्छन् । मनमा दृश्यहरु पनि आइरहन्छन् । यस्ता मानिस मन्दिर जाँदा पनि समस्या आउँछ । देवतालाई कुल्चिने सोचाइ, देवताको यौन सोचाइ आइरहन्छ । बाटोमा पुलमा हिँड्दा हाम्फाल्ने र फोहोर खाइने सोचाइले मन छटपटी भइरहन्छ । धारिलो हतियारनजिक वस्दा अर्कालाई हान्ने सोचाइ, जुन गर्नुहुदैन भन्ने थाहा हुँदा पनि पटकपटक आइरहन्छ । कतिपय विबामी बाथरुममा घण्टौंसम्म बस्छन् र चिसोले कठ्यांग्रिन्छन् ।
के कारण रोग लाग्छ ?
यस्तो रोगको खास कारण अहिलेसम्म थाहा हुन सकेको छैन । तर मस्तिष्कमा सेरोटोनिन भन्ने रसायनको गडबडी हुँदा रोग लाग्छ भन्ने धारणा छ । यसबाहेक सोचेको काम सफल नहुँदा तथा मस्तिष्कको संक्रमणपछि पनि यो रोग भएको पाइएको छ । वंशाणुगत रुपमा पनि यो रोग सर्ने गर्छ ।
उपचार कसरी गरिन्छ ?
विभिन्न खालका औषधिको प्रयोग तथा मनोवैज्ञानिक उपचार सोचाइ परिवर्तन गराउने, बिरामीको सोचाइअनुसार ध्यान केन्द्रित हुन नदिने उपचार गराइन्छ । केही बिरामीमा पछि गएर कडा मानसिक रोग पनि देखा पर्छ । यस्ता बिरामीमा विचित्रका शंका, उपशंका आउने हुनाले दैनिक काम गर्न पनि गाह्रो पर्ने हुन्छ ।
यस्ता कुरा सँगै बस्ने मानिसलाई थाहै हुदैन, किन नुहाइरहन्छ ? किन हात थोइरहन्छ ? कसैले ख्यालै गरेको हुँदैन । उसको बानी यस्तै रहेछ भनेजस्तो हुने तर समस्या जटिल बन्दै जाँदा मात्र यो रोग लागेको थाहा हुने गर्छ । एकजना बिरामी पुरुष भन्छन्, ‘म महिलाको कम्मरभन्दा तल हेर्न सक्दिनँ ।’ केही बिरामीमा चाहिँ विभिन्न शंका, उपशंका आउने हुनाले हरेक काममा ढिलोपन आउँछ ।
कस्ता मानिसलाई रोग लाग्छ ?
यो रोग आफूले भनेको नै हुनुपर्ने, अर्काको काममा चित्त नबुझ्ने खालका मानिसलाई लाग्ने सम्भावना बढी हुन्छ । यस्ता मानिसहरु अत्यन्तै नैतिकवान् हुन्छन् । र, अरुबाट पनि त्यस्तो आशा गर्छन् तर समाज त्यस्तो छैन । साथै सहन सक्ने क्षता कम हुने, सानो कुरा पनि मनमा ठूलो रुपमा लिने मानिसलाई बढी हुने सम्भावना रहन्छ ।
जान्नैपर्ने कुरा
– यस्ता बिरामीले लुगा धुनु हँुदैन वा पानीमा गरिने कुनै पनि कामबाट टाढा हुनुपर्छ ।
– यस्ता बिरामीले मनमा एउटै कुरा लिइरहनु हुँदैन । बारम्बार सोचाइ परिवर्तन गर्नुपर्छ ।
– खतरा हुने सामान र खतरा स्थानमा बिरामीलाई राख्नु हुँदैन ।
– बिरामीलाई जति नै ठूलो समस्या देखा परे पनि यो उसको मनमा मात्र रहन्छ । सँगैको साथीलाई पनि केही थाहा हँुदैन ।
– कहिलेकाहीँ डिप्रेसन हुन सक्छ । त्यस्तो भए उपचार गर्नुपर्छ ।
– पछि कडा मानिसिक रोग पनि लाग्न सक्छ ।
– धामीझाँक्रीबाट यो रोग निको नहुने हुनाले भ्रममा पर्नु हुँदैन ।
– उपचार गरे यो रोग निको हुन्छ ।
– यस्ता बिरामीको मनमा बारम्बार कुरा आइरहने हुनाले अत्यन्त छटपटी हुन्छ । कुनै न कुनै कुरामा भुल्दा बिरामीको समस्या कम हुन्छ ।
डा. सिपी सेडार्इं
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।