काठमाडौं– नेपाली कांग्रेसले नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व भए पनि संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न नसकिने सरकारलाई स्मरण गराएको छ।
सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि पार्टीभित्रबाटै विभिन्न प्रतिक्रियालाई आइरहेपछि प्रवक्ता विश्वप्रकाश शर्माले 'सबै अस्पष्टता र भ्रम निवाराणार्थ' भन्दै शनिबार विज्ञप्ति जारी गरेका हुन्।
'वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ', विज्ञप्तिमा भनिएको छ।
चन्दले नेतृत्व गरेका नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन कांग्रेसले आग्रह गरेको छ।
'दशक लामो हिंसात्मक विद्रोहको शान्तिपूर्ण निकास खोज्न मुलुकले ऐतिहासिक सफलता हासिल गरेको र त्यस मुल नेतृत्व नेपाली कांग्रेसले गरेको हाम्रो ताजा विगत स्मृति गर्दै, आजको मितिमा हिंसात्मक व्रिदोहमा गएको नेपाल कम्युनिष्ट पार्टीलाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र यसको नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न नेपाली कांग्रेस अपिल गर्दछ', विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।