काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा), नेपालले नेकपा (एमाले) सँग सहकार्य नगर्ने स्पष्ट पारेको छ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटोसहितको समाचार सार्वजनिक भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत उक्त कुरा सार्वजनिक गरेका हुन्।
अध्यक्ष यादवका अनुसार सरकारमा सहभागी हुने सम्बन्धमा न त कुनै निर्णय नै गरिएको छ, न त कुनै नीति नै लिइएको छ। यसका साथै कसैसँग कुनै समझदारी पनि नभएको र तत्काल यो सम्भव नरहेको उनले बताएका छन्।
बेग्लै प्रसङ्गमा खिचिएको फोटोलाई केही व्यक्तिहरूले दुरुपयोग गरी गलत, भ्रामक र दुष्प्रचार गरेको देख्दा आश्चर्य लागेको उनले उल्लेख गरेका छन्। कुनै सत्यता नरहेका यस्ता गलत मनसायले फैलाइएका कपोलकल्पित, भ्रामक, पूर्वाग्राहीपूर्ण तथा झुठा प्रचारप्रति विश्वास नगर्न पनि उनले आग्रह गरेका छन्।
जसपा नेपालले हालसम्म सरकार बनाउन कुनै दाबी नगरेको र कुनै दलसँग समर्थनसमेत नमागेको अध्यक्ष यादवले प्रस्ट पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।