झापा- विर्तामोडमा शुक्रबारदेखि जारी कर्फ्यु आइतबार राति ९ बजेदेखि १२ घन्टाका लागि हटाइएको छ।
कर्फ्यु सोमबार बिहान ९ बजेसम्मका लागि हटाइएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । सोमबारको अवस्था हेरेर कर्फ्यु लगाउने-नलगाउने विषयमा थप निर्णय लिइने उनले बताए।
शुक्रबार मध्याह्नदेखि बिर्तामोडको स्थिति तनाबग्रस्त भएपछि त्यहाँ अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो । झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्युको घटनाबारे छानबिनको माग गर्दै भएको प्रदर्शन उग्र बनेपछि प्रशासनले कर्फ्यु लगाएको थियो । शुक्रबारको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो।
यसैबीच, बालक सिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयबाट झापा पुगेको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान प्रारम्भिक चरणबाट अघि बढेको जनाएको छ।
टोलीका संयोजक गृहका सहसचिव वीरेन्द्रकुमार यादवले प्रारम्भिक चरणमा तथ्यांक संकलनमा टोली खटेकाले अनुसन्धानको विषय टुंगिन केही समय लाग्ने बताए । उनले टोलीको अनुसन्धानलाई सहयोग गर्न सबैसँग आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।