काठमाडौं- रोजीरोटीका लागि विदेशिएका नेपालीमध्ये ५४५ जना विभिन्न गन्तव्य मुलुकका जेलमा बन्दी जीवन बिताउन बाध्य भएको तथ्यांक सार्वजनिक गरिएको छ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ५२६ पुरुष र १९ महिला विभिन्न देशका कारागारमा बन्दी जीवन बिताउँदैछन्।
कुवेतमा ५५ पुरुष र तीन महिला, संयुक्त अरब इमिरेट्समा १७३ पुरुष र १२ महिला, मलेसियामा २०२ पुरुष र तीन महिला, ओमनमा एक पुरुष र दुई महिला, साउदी अरबको जेलमा ३१ र रियादमा २३ पुरुष, कतारमा ३५ पुरुष र बहराइनमा पाँच पुरुष कामदार कारागारमा बन्दी अवस्थामा रहेका पाइएको बोर्डले जनाएको छ।
त्यसैगरी कामका सिलसिलामा दुर्घटनामा परी २१ पुरुष र तीन महिला गरी २४ जना अचेत अवस्था (कोमा) मा विभिन्न अस्पतालमा रहेका छन्।
कुवेतमा तीन पुरुष एक महिला, संयुक्त अरब इमिरेट्स र ओमनमा एकएक, साउदी अरबमा पाँच, कतारमा नौ तथा बहराइनमा चारजना सम्बन्धित मुलुकको अस्पतालमा अचेत अवस्थामा रहेका बोर्डले जनाएको छ।
विभिन्न कारणबाट जेलमा परेका नेपाली श्रमिकको उद्धारका लागि कानुनी सहायता उपलब्ध गराइएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।
फौजदारी कसुरको अभियोग लागेका नेपाली कामदारलाई निजको तर्फबाट कानुनी प्रतिरक्षा तथा बहस पैरवी गर्न सरकारले आर्थिक सहायता उपलब्ध गराउँदै आएको उनले बताए। ‘वैदेशिक रोजगारमा गएका नेपाली कामदारको कानुनी प्रतिरक्षासम्बन्धी निर्देशका, २०७५’ अनुसार कामदारको उद्धारका लागि बढीमा रु १५ लाखसम्म उपलब्ध गराइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।