काठमाडाैं- लगानी बोर्डले चार पाङग्रे सवारीसाधन उत्पादनका लागि १० अर्ब बढीको विदेशी लगानी स्वीकृत गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ३५औं बैठकले चार पाङग्रे सवारीसाधन उत्पादनका लागि युनिट स्थापना गर्ने गरी १० अर्ब ५४ करोड रुपैयाँको कोरियाली लगानी स्वीकृत गरेको हो।
बैठकले अरुण तेश्रो आयोजनामा देखिएका समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले नेतृत्व गर्ने गरी स्थानीय स्तरको कार्यदल गठन गरेको छ। बैठकले सो कार्यदललाई ३ महिनाभित्र अध्ययन प्रतिवेदन पेस गर्न समयसीमा तोकेको छ। अरुण तेश्रो आयोजनाको वित्तीयस्रोत जुटाउनका लागि बैठकले जुन २०१९ सम्म ३ महिना समय थप गरेको छ।
बैठकमा बोर्डको सचिवालयले लगानी सम्मेलनको बारेमा भइरहेको तयारी र प्रगतिबारे प्रधानमन्त्रीलाई 'ब्रिफिङ' गरिएको थियो। बोर्डले लगानी सम्मेलनको लागि आफैंले बनाएको ४५ वटा र निजी क्षेत्रबाट १७ वटा गरी ६० बढी आयोजनाहरु प्रस्तुत गर्ने गरी आयोजनाहरुको स्वीकृत गरेको छ। यसरी छनौट गरी स्विकृत भएका परियोजनाहरुमा फोहाेरमैला, यातायात, पर्यटन, जलविद्युतलगायत विभिन्न क्षेत्रका रहेका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए।
उनले लगानी सम्मेलनका लागि ४ सय भन्दा बढी विदेशीको सहभागीता सुनिश्चित भइसकेको र सो अवसरमा केही आयोजनाको दुई पक्षीय सम्झौता हुने र केहीको एमओयूमा हस्ताक्षर गर्ने तयारी पनि भइरहेको बताए।
बैठकले धादिङमा निर्माण सुरु भएको ह्वांग्सी सिमेन्टको स्थानीय स्तरमा वितरण गर्ने सेयर स्वामित्वको पनि स्वीकृति दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।