जनकपुर– भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रघुवीर महासेठले स्वतन्त्र मधेस गठबन्धनसँग ११ बुँदे सहमतिपछि सरकार गम्भीर रहेको बताएका छन्।
शुक्रबार जनकपुरमा उनले सिके राउतले सरकारसँग गरेको सहमति उल्लंघन गरे प्रतिबन्ध लगाउने चेतावनी समेत दिए। उनले गठबन्धनले सम्झौता विपरीत गतिविधि कार्य गरेमा विप्लव नेतृत्वको नेकपा जस्तै प्रतिबन्ध लगाउन सकिने चेतावनी दिए।
उनले संघीय सरकारमा मन्त्री हेरफेरबारे नेकपाभित्र कुनै किसिमको निर्णय नभएको जनाए। मन्त्री महासेठले विप्लव नेतृत्वको पार्टीलाई शान्तिपूर्ण राजनीतिमा आउन आह्वान समेत गरे।
उनले मन्त्री हेरफेरबारे नेकपाभित्र कुनै निर्णय नभएको जानकारी दिए। महासेठले आज धनुषामा ३ वटा पुलको शिलान्याससमेत गरेका छन्।
उनले भारत सरकारको लगानीमा निर्माण भइरहेको धनुषाको ढल्केवर—जनकपुर—जटही ६ लेन सडक अन्तर्गत पर्ने जनकपुर उपमहानगरपालिका २३ बसहिया स्थित दुधमति पुलको शिलान्यास गरे।
त्यसै गरी नगराइन नगरपालिका गंगुली स्थित जल्लाद पुल र जटहीको जमुनी पुलको पनि मन्त्री महासेठले शिलान्यास गरेका हुन्। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले अबको ४ वर्षभित्र मुलुक विकासको समृद्धिमा फड्को मार्ने बताए।
पुलको शिलान्यास गर्दै मन्त्री महासेठले समयमा निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी समेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।