काठमाडाैं- सर्वोच्च अदालतले ५ वर्ष नाघेका मुद्दालाई १ वर्षभित्र शून्यमा झार्ने बताएको छ।
सर्वोच्च अदालतमा आयोजित पत्रकारहरुसँगको छलफलमा मुख्य रजिष्टार नृपध्वज निरौलाले ५ वर्ष नाघेका १ हजार ६ सय भन्दा बढी मुद्दा एक वर्षभित्रै शून्यमा झार्ने योजनाअनुरुप अगाडि बढेको जानकारी दिए। यो अवधारणा ल्याउनु अघि ५ वर्ष नाघेका मुद्दा २ हजार २ सय रहेकोमा अहिले १ हजार ६ सयमा झरेको सर्वोच्चको दाबी छ।
उनले सर्वोच्च अदालतमा रहेका राष्ट्रिय महत्व, विकास निर्माण र राजश्वसँग सम्बन्धित विवादहरुको कारबाहीलाई प्राथमिकतामा राखेर व्यवस्थापन गरिएकोसमेत जानकारी दिए।
यस्तै, अदालतले न्याय सम्पादनलाई छिटोछरितो एवम् प्रभावकारी बनाउन मुद्दा व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन सर्वोच्च अदालतको पूर्ण बैठकबाट पारित गरी कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको छ।
निरौलाले न्यायपालिकाको आगामी चौथो पञ्चवर्षीय रणनीतिक योजना समेतका समसामयीक विषयमा छलफल गरी ठोस निष्कर्षका साथ अगाडि बढ्न न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको पनि जानकारी दिए।
चैत्र २०, २१ र २२ गते प्रज्ञा भवनमा हुने न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनको तयारी मध्यविन्दूमा पुगेको निरौलाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।