काठमाडौं– समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको अन्तिम बन्दसूची बुझ्न निर्वाचन आयोग आइतबार मध्यरातसम्म खुला रहने भएको छ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जातीय तथा लैंगिक प्रतिनिधित्व मिलाएर सूची पेश गर्न दलहरुले ढिलाइ गरेपछि आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको अन्तिम बन्दसूची बुझ्न मध्यरातसम्म कुर्ने भएको हो।
आयोगले बन्दसूची पेश गर्न आइतबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय दिएको थियो । दलहरुले आवश्यक प्रतिनिधित्व मिलाउन नसकेपछि आयोगले सूची सच्याउन दुई साताको समय दिएको थियो।
‘आजसम्म सूची नबुझाए दलहरुको उम्मेदवारी कायम हुनेछैन । त्यसैले हामीले कार्यालय समयभन्दा अतिरिक्तको समय दलहरुलाई उपलब्ध गराएका छौं’, आयोग प्रवक्ता नवराज ढकालले नेपाल लाइभलाई भने।
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभाका लागि १ सय १० र प्रदेशसभाका लागि २२० जना चयन हुनेछन् । दलहरुले बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला अनिवार्य समेट्नुपर्छ । यस्तै, १३.८ प्रतिशत दलित, २८ प्रतिशत आदिवासी जनजाति, ३१.२ खस आर्य, १५.३ मधेसी, ६.६ थारु र ४.४ प्रतिशत मुस्लिम सिफारिस गर्नुपर्नेछ।
’दलहरुले यो अनुपातमा सूची नबुझाएकाले हामीले आवश्यक संख्या कायम गरेर सूची बुझाउने मौका दिएका हौं’, प्रवक्ता ढकालले भने।
आयोगमा दर्ता भएका कूल ९१ राजनीतिक दलमध्ये ८८ वटा दलले समानुपातिकतर्फ उम्मेदवारी दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएका थिए । बन्दसूची भने ५२ दलका उम्मेदवारले मात्र बुझाएका थिए।
प्रत्यक्षलाई थाती राख्दै समानुपातिक सूची सच्याउँदै दलहरु
राजनीतिक दलहरुले प्रत्यक्षतर्फ उम्मेदवारी विवाद मिल्न नसकेपछि समानुपातिक तर्फबाट अन्तिम टुंगो लगाउने भएका छन्।
दलहरु शनिबारदेखि नै छलफलमा सक्रिय भए पनि आकांक्षीलाई मिलाउन नसक्दा प्रत्यक्षतर्फ अन्तिम टुंगो लाग्न नसकेको हो । बिहानैदेखि बालुवाटारमा जारी छलफल समानुपातिकतर्फ केन्द्रित भएको कांग्रेस नेता महेश आचार्यले बताए । प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने समय बाँकी भएको र समानुपातिकमा आइतबारै निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले त्यसमा छलफल केन्द्रित भएको उनले बताए।
केही दिनदेखि प्रत्यक्षतर्फ उम्मेदवार टुंगो लगाउन बसेको वाम गठबन्धनले पनि समानुपातिकतर्फको सूची सच्याउन छलफल केन्द्रित गरेको छ । एमाले उपाध्यक्ष बामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बसेको गठबन्धनको कार्यदले चितवन, झापा लगायत केही जिल्लाको विवाद कायमै राखेर समानुपातिकतर्फ छलफल केन्द्रित गरेको हो।
माओवादी केन्द्र र एमालेले प्रत्यक्षतर्फ गठबन्धन गरेर चुनाव लडे पनि समानुपातिकमा भने छुट्टाछुट्टै सूची आयोगलाई बुझाउनुपर्नेछ । दुई दलभित्र समायोजन भएका दलहरुका नेताहरुलाई समेत सूचीमा समावेश गर्नुपर्ने भएकाले प्रत्यक्षलाई रोकेर समानुपातिकतिर छलफल केन्द्रित गरिएको एमालेका नेता सुरेन्द्र पाण्डेले बताए।
कात्तिक १६ गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले समानुपातिकतर्फ उनीहरु केन्द्रित भएका हुन् । प्रत्यक्षतर्फका उम्मेदवारहरुको टुंगो मंगलबारसम्ममा लाग्ने पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।