काठमाडाैं- संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुने निष्कर्ष निकालेको छ।
समितिअन्तर्गतको उपसमितिले सो द्रुतमार्गको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा नेपाली सेनाले निर्माण गरिरहेको सो द्रुतमार्ग निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुने उल्लेख गरिएको हो।
समितिकी सभापति कल्याणी खड्काले समितिको शुक्रबारको बैठकमा सो द्रुतमार्गको स्थलगत अवलोकनसम्बन्धी प्रतिवेदन पेस गर्दै नेपाली सेनाले सो द्रुतमार्ग निर्माणको काम प्रभावकारी ढंगले अघि बढाएको पनि जानकारी दिए। ७६ दशमलब २ किलोमिटर लम्बाई रहेको सो द्रुतमार्गको ५४ किलोमिटरको काम नेपाली सेनाले सम्पन्न गरिसकेको छ।
उपसमितिकी संयोजकसमेत रहेकी सभापति खड्काले स्थलगत अवलोकनको क्रममा सो द्रुतमार्गको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पाइएको उल्लेख गरिन्।
प्रतिवेदनमा सो द्रुतमार्गको काम बिना अवरोध अघि बढाउन सम्बन्धित स्थानीय तहसँग सहकार्यका साथ अघि बढ्न पनि नेपाली सेनालाई सुझाव दिइएको छ।
त्यसैगरी, स्थानीय स्तरमा भएका निर्माण सामग्रीको उचित प्रयोगमा ध्यान दिन पनि नेपाली सेनालाई सुझाव दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्। स्थानीय निर्माण सामग्री प्रयोगमा कानुनी जटिलता देखिएको उल्लेख गर्दै प्रतिवेदनमा त्यसको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सचेत गराइएको छ।
उपसमितिले तयार पारेको प्रतिवेदनमा सो द्रुतमार्ग निर्माणको काम सम्पन्न हुने आधार सुनिश्चित भएको पनि उल्लेख गरिएको छ।
२०७४ साल बैसाख २१ गते तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले ४ वर्ष भित्र निर्माण कार्य सम्पन्न हुनेगरी सो द्रुतमार्गको निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो।
आयोजनाको निर्माणका लागि एक खर्ब १२ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।