सामान्यतया उच्च रक्तचापको केही लक्षण हुदैन । उच्च रक्तचापको कारणले टाउको दुख्छ भन्ने जनधारणा छ, तर यो कुरालाई अनुसन्धानले पुष्टि गर्दैन । रक्तचाप अचानक धेरै बढेमा टाउको दुख्नसक्छ । अलिअलि मात्र बढेमा टाउको दुख्दैन । तर उच्च रक्तचापले टाउको पछाडितिर र कहिलेकाँही पुरै टाउको भारी हुने वा अलिअलि दुख्ने हुनसक्छ । कसैकसैलाई रक्तचाप बढेको बेलामा केही लक्षण तथा समस्या देखा पर्न सक्छन् । कहिलेकाहीँ उच्च रक्तचापका कारण अंगहरुमा परेको दुष्प्रभावको फलस्वरुप विभिन्न लक्षण देखापर्न सक्छ । केही बिरामीलाई मस्तिष्काघात, हृदयाघात वा मिर्गौलाको समस्या आदि भएर अस्पताल पुगेपछि मात्रै उच्च रक्तचाप भएको पहिलोपटक थाहा हुनसक्छ । उच्च रक्तचापको लक्षण निम्न देखिनसक्छ :
– टाउको दुख्नु वा भारी महसुस हुनु
– रिंगटा लाग्नु
– हिँड्दा स्वाँ स्वाँ हुनु
– खुट्टा वा अनुहार सुन्निनु
– नाकबाट रगत बग्नु
टाउको उच्च रक्तचापका कारण मात्र नभई अरु नै कारण पनि दुख्न सक्छ । बरु टाउको दुखेका बेलामा रक्तचाप पनि बढ्न सक्छ । त्यसैले टाउको दुख्न ठीक भएपछि फेरी रक्तचाप नापेर हेर्नुपर्छ ।
- डा. ओममूर्ति अनिल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।