पानी पिउनुजस्तै पसिना निस्कनु पनि शरीरका लागि आवश्यक हुन्छ । शरीरमा भएको विकार पसिनामार्फत बाहिर आउँछ । यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्छ । तर, अत्यधिक पसिना आएमा शरीर र कपडा दुर्गन्धित भई समस्या हुन सक्छ । बढी पसिना आउनुलाई चिकित्साविज्ञानमा हाइपरहाइड्रोसिस भनिन्छ । विश्वको कुल जनसंख्याको करिब २ प्रतिशत मानिसमा हाइपरहाइड्रोसिस भएकोे अनुमान छ ।
धेरै पसिना किन आउँछ ?
वंशाणुगत कारणले पनि बढी पसिना आउने हुन्छ । गर्मीमा धेरै काम र व्यायाम गर्नु बढी पसिना आउने अरू कारण हुन् । यसबाहेक मलेरिया, फोक्सोको टिबी, दुषित रगत, तनाव, कडा ज्वरोका कारण पनि बढी पसिना आउँछ । त्यस्तै, दुर्बलता, कमजोर स्मरणशक्ति, अरुचिआदि पनि बढी पसिना आउने कारण हुन् । कब्जियत भयो, तेलयुक्त मसलादार खाना निरन्तर खाइयो भनेपनि पसिना बढी आउँछ । यसबाहेक थायोराइड गन्थ्री बढी सक्रिय भयो भने धेरै पसिना आउँछ ।
शरीरको बाहिरी भागमा मृत छालाको पत्र हुन्छ । धेरै पसिनाले छालाको यो पत्रलाई ओसिलो बनाउँछ र यसैबाट दुर्गन्ध उत्पन्न हुन्छ । ओसिलो ठाउँमा ब्याक्टेरियाले हुर्किने अनुकूल वातावरण पाउने हुँदा त्यहाँ दुर्गन्ध उत्पन्न हुन्छ । बढी पसिना आउनेले नियमीत रुपमा शरीरको सरसफाई गरेनभने यस्ता ब्याक्टेरिया हुर्किन पाउँछन् । विशेषगरी पैताला, काछ, काखी र हत्केलामा बढी पसिना आउने भएकाले यी अंगका सरसफाईमा बढी ध्यान दिनुपर्छ ।




बढी पसिना आउन नदिन के गर्ने ?
बढी पसिना आउन नदिने सबैभन्दा उत्तम उपाय शरीरलाई शितल राख्नु हो । यसका लागि घाम चर्किएको बेला काम नगर्ने, दौडधुप र व्यायाम कम गर्ने, शितलमा बस्ने, नियमित नुहाउने, पानी अथवा पानीयुक्त फलफूल बढी खाने, राती अबेरसम्म नबस्ने, धेरैबेर भोकै नरहने, मसलादार र बरफयुक्त खाना धेरै नखाने, खानामा लसुनको मात्रा कम र दही, अदुवा र प्याजको मात्रा बढाउने गरियो भने पसिनाको मात्रा घटाउन सकिन्छ । यस्ता उपायबाट पनि पसिना आउन कम भएन भने डाक्टरको सल्लाहमा एल्युमिनियम क्लोराइडयुक्त एन्टिपर्सपाइरेन्ट औषधी सेवन गर्नुपर्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।