नयाँ दिल्ली (एजेन्सी)- सन् १९८० देखि ९० को दशकसम्म बलिउडमा सक्रिय 'दामिनी' लाई दर्शकले हत्तपत्त नभुल्लान् । 'दामिनी', 'हिरो', 'घातक', 'घायल' जस्ता फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले मीनाक्षी शेषाद्री धेरैको मनमगजमा ताजै हुनुपर्छ।
तर, उनी पछिल्लो २१ वर्षदेखि फिल्मका साथै टिभी शो र बलिउड पार्टीमा देखा परेकी छैनन् । उनको गन्ती ती कलाकारमा हुने गर्छ, जो ठूलो पर्दाबाट पूर्णरुपमा गायब भइसकेका छन् । मीनाक्षी अन्तिम पटक सनी देओलको साथमा 'घातक' (१९९६) फिल्ममा देखिएकी थिइन् ।
सार्वजनिक रुपमा गायब भए पनि उनी दुई वर्षयता सामाजिक सञ्जाल ट्विटरको माध्यमबाट आफ्ना प्रशंसकहरुसँग जोडिएकी छन् । ५३ वर्षीया अभिनेत्रीले हालै ट्विटरमा आफ्नो सुन्दर तस्बिर राखेकी छन् ।
'घातक' पछि मीनाक्षी एकाएक फिल्मक्षेत्रबाट हराएकी थिइन् । सन् १९९५ मा बैंकर हरीश मैसूरसँग विवाह गरेर उनी अमेरिकाको टेक्ससमा बस्न थालेकी थिइन् । उनीहरुका एक छोरा र एक छोरी छन्।
फिल्मक्षेत्रलाई अलविदा गरिसकेकी मीनाक्षी अहिले टेक्ससमै नृत्य सिकाउँछिन् । उनले त्यहाँ कत्थक र क्लासिकल नृत्य सिकाउने 'चियरिश डान्स स्कुल' खोलेकी छन् । फिल्मक्षेत्रमा फर्कने सम्भावनाबारे सोध्दा उनले भनेकी छन्- 'यतिबेला मलाई फिल्मप्रति चाख छैन । म नाटक र संगीत नाट्यमा काम गर्न चाहन्छु।'
उनले बच्चा र परिवार बढी महत्वपूर्ण भएकाले यतिका वर्षसम्म फिल्ममा काम नगरेको बताइन् । उनी भन्छन्, 'जुन दिन मेरी छोरी स्नातक पूरा गर्नेछे, त्यसपछि म केही गर्नेबारे सोचिरहेको छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।