काठमाडौं- इथियोपियाबाट केन्याको नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको म्याक्स८ बोइङ ७३७ मोडेलको विमान आइतबार दुर्घटना पर्यो। यो कम्पनीको विमान दुर्घटनापछि म्याक्स ८ बोइङ ७३७ जहाज उडानका प्रतिबन्ध लगाउने देशको संख्या बढिरहेको छ। भारतले पनि उक्त जहाज उडानमा प्रतिबन्ध लगाएको छ।
नेपालमा पनि सिंगापुरको सिल्क एयरलाइन्सले म्याक्स ८ बोइङ ७३७ जहाज मार्फत उडान गरिहेको थियो। तर, इथियोपियन एयरलाइन्सले उडान गरिरहेको उक्त जहाज दुर्घटनापछि सिल्कले पनि उडानमा प्रतिबन्ध लगाइसकेको छ। जसकारण तत्काल नेपालले यी जहाज उडानमा प्रतिबन्ध लगाउनु नपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल बताउँछन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अहिले ३० भन्दा बढी एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। तीमध्ये नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स स्वदेशी विमान कम्पनी हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने एयरलाइन्स कम्पानीका विमान
१. नेपाल एयरलाइन्स– एयरबस कम्पनीको वाइडबडी ३३०, ३२० र बोइङ कम्पनीको ७५७
२. हिमालय एयरलाइन्स– एयरबस ३२०
३. एयर अरेबिया– एयरबस ३२०
४. एयर इन्डिया– एयरबस ३२०
५. विमान बंग्ला– बोइङ–७३८
६. एयर चाइन– एयरबस ३१९
७. चाइना साउथर्न– बोइङ ७३७ तर (म्याक्स ८ होइन)
८. सिचुवान– एयरबस ३१९
९. एयर भुटान– एयरबस ३१९
१०. इतिहाद– एयरबस ३२०
११. फ्लाई दुबई– बोइङ७३८
१२. ड्रागन– एयरबस ३३३
१३. इन्डिगो– एयरबस ३२०
१४. जेट एयरबेज– बोइङ ७३८
१५. मलेसियन– बोइङ७३८
१६. मालिन्दो– बोइङ७३९
१७. कतार एयरवेज– एयरबस ३२०, ३३२
१८. ओमन– बोइङ७३८
१९. सिल्क–बोइङ ७३७ (म्याक्स ८ उडान गरिरहेकामा प्रतिबन्ध गरिसकेको)
२०. तिब्बत– एयरबस ३१९
२१. थाइ– बोइङ ७७२
२२. टर्किस– एयरबस ३३२
२३. थाइलाइन– बोइङ७३९
आइतबार भएको म्याक्स ८ बोइङ ७३७ मोडेलको विमान दुर्घटनामा विमानमा सवार एक नेपालीसहित १५७ जना सबैको मृत्यु भएको थियो। यसअघि गत अक्टोबरमा लायन्स एयरको सोही मोडेलको विमान दुर्घटना भएको थियो। दुर्घटनामा विमानमा सवार १८९ जनाले ज्यान गुमाएका थिए।
६ महिनाको बीचमै दुई वटा एउटै मोडलको विमान दुर्घटना भएपछि यो जहाज उडानमा प्रतिबन्ध लगाउने देशको संख्या १० पुगिसेकेको छ।
यसअघि सिंगापुर, चीन, इथियोपिया, इन्डोनेसिया, बेलायत, आयरल्यान्ड, जर्मनी, केमन टापुको केमन एयरलाइन्स लगायतले पनि वोइङ ७३७ म्याक्स ८ विमानको उडानमा रोक लगाइसकेका छन्। नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने विदेशी कम्पनीले अहिले म्याक्स ८ बोइङ ७३७ विमान उडान नगरेका कारण तत्काल प्रतिबन्ध लगाउनुपर्ने अवस्था नरहेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्री बताउँछन्।
२०१७ बाट व्यावसायिक उडान सुरु गरेको उक्त अमेरिकी बोइङ विमान ६ महिनामा दुईपटक दुर्घटनामा भएपछि सो मोडेलको विमानको सुरक्षालाई लिएर प्रश्न उठेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।