म्युजिक भिडियो हुँदै फिल्मक्षेत्रमा प्रवेश गरेकी वर्षा राउत पछिल्लो समय थुप्रै फिल्ममेकरको रोजाइकी अभिनेत्री हुन् । 'नाइँ नभन्नू ल ४' बाट फिल्ममा डेब्यू गरेकी उनका अहिलेसम्म चार फिल्म रिलिज भइसकेका छन् । डेब्यू फिल्मसहित 'जात्रा', 'छक्का पञ्जा १ र २' ले बक्सअफिसमा राम्रो कमाइ गरे।
उनी अभिनीत 'मिस्टर झोले' रिलिजका क्रममा छ भने केमियो भूमिका गरेको 'फाटेको जुत्ता' आगामी शुक्रबार रिलिज हुँदैछ । सोलो भूमिका रहेको 'मेरो पैसा खोई'का लागि तीन लाखभन्दा बढी रकम बुझेकी वर्षाको फिल्मको रेट त्योभन्दा बढिसकेको छ । उनीसँग नेपाल लाइभका अशेष अधिकारीले पैसाकै केन्द्रबिन्दुमा रहेर गरेको कुराकानी:
वर्षाका लागि पैसा के हो?
पैसा महत्वपूर्ण चिज हो । तर, आवश्यक पर्यो भन्दैमा नराम्रो काम वा तरिकाले कमाउने कुरा होइन । पैसा प्रत्येक मानिसले मिहिनेत गरेर कमाउनुपर्छ भन्ने मेरो मान्यता छ।
पैसा कमाउनकै लागि फिल्म वा म्युजिक भिडियोमा काम गरिएको छ?
गरेको छु । करिअरको सुरूवातमा मसँग म्युजिक भिडियो बाहेक अरू आम्दानीको बाटो नभएकाले गरेको छु । अहिले आफ्नै बिजनेस तथा क्याफे भएकाले पैसाको लागि काम गरिरहेको छैन।
कुनै बेला पैसा चोरिएको छ कि छैन?
छ । बच्चामा धेरै चोरेको छु । विशेषगरी दशैंमा दराजमा नयाँ नोट हुन्थ्यो । त्यो पैसा चोरेको छु । तर, त्यसबारे बुबा-मम्मीलाई कहिल्यै थाहा भएन।
सबैभन्दा बढी कति पैसा चोरियो?
सय रूपैयाँ । म दुई कक्षामा पढ्दाको कुरा हो, खासमा मलाई ममी-ड्याडीले खुत्रुकेमा जम्मा गर्न दिनुभएको थियो । त्यो पैसा मैले खुत्रुकेमा नहाली जियोम्याट्री बक्स तथा चक्लेट आदि किनेर सिध्याएँ । त्यो पनि एउटा चोरी जस्तै थियो । पछि ड्याडीले थाहा पाएपछि पिटाइ खाएँ । मलाई राति हात बाँधेर छतमा राख्नुभयो । पुलिस बोलाउँछु भन्दै पटकपटक फोन गरे जस्तो गर्नुभयो । त्यो बेलामा पुलिसको साइरन बज्दा २-४ दिन पुलिस मलाई नै लिन आयो होला भनेर लुक्थेँ।
सबैभन्दा बढी एकैपटक खर्च भएको रकम?
मेकअपको सामान किन्दा खर्च गरेको थिएँ । विदेशमा हुँदा मेकअप किट ५० हजारमा किनेको थिएँ । त्यतिबेला कार्डबाट तिरेकाले खासै मतलब भएन । तर, पछि हिसाब गर्दा भने त्यत्रो रकम खर्च गरेछु भनेर पीर परेको थियो । म खास एकैपटक धेरै पैसा खर्च गर्दिनँ।
बढी खर्च केमा हुन्छ?
मेकअपका साथै लुगा, जुत्ता आदिमा हुन्छ । केकेमा खर्च भइरहेको हुन्छ, पत्तै हुन्न।
दान गरेको ठूलो रकम?
सायद ५ हजार होला । म संस्थालाई भन्दा पनि सम्बन्धित व्यक्तिलाई नै भेटेर पैसा दिन्छु ।
एकैपटक कति पैसा हात पर्यो भने अब मलाई पुग्छ भन्ने होला?
कति भन्ने छैन । पैसा भन्ने कुरा त जति भयो उति खर्च गर्न मन लाग्ने हुन्छ । जति भए पनि पुग्दैन।
आजसम्म कसैलाई ऋण दिएर फिर्ता नपाएको रकम?
कति म्युजिक भिडियो गरेको पैसा पाएको छैन । ६-७ महिनाअघि एक जना साथीलाई २ लाख दिएको थिएँ । एक-दुई हप्तामा दिन्छु भने पनि अझैसम्म फिर्ता पाएको छैन । मलाई आफ्नो पैसा माग्न अप्ठ्यारो लाग्छ । अब आफैं बुझेर फिर्ता देलान् भन्ने आशा छ।
बाटोमा आजसम्म भेटेको सबैभन्दा ठूलो रकम?
हजार रूपैयाँ । तर, त्यो पैसा अर्कैले लियो । साथीसँग हिँड्दै गर्दा पैसा देख्यौं, तर टिपेको कसैले देख्ला भन्दै कसले टिप्ने कुरा हुँदाहुँदै अर्को मान्छेले तपाईंहरू नलिने भए म लिन्छु भनेर लग्यो । अहिले सम्झँदा हाँसो उठ्छ।
कसैलाई दिएको महँगो गिफ्ट?
सञ्जोग कोइरालाई (प्रेमी) लाई घडी उपहार दिएको थिएँ । करिब ३५ हजार परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।