नयाँ दिल्ली (एजेन्सी)- बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले आफ्नो आत्मकथा 'एन अर्डिनरी लाइफ' मा कैयौं महिलासँग सम्बन्धको बारेमा खुलेर उल्लेख गरेका छन्, जसका कारण अहिले उनी विवादमा छाइरहेका छन्।
पहिलो फिल्म 'मिस लभ्ली' मा नवाजुद्दीनको को-स्टार रहेकी अभिनेत्री निहारिका सिंहले भनेकी थिइन्, नवाजले आफ्नो किताब बेच्न महिलाहरुको सम्मानको धज्जी उडाएका छन्।
यसैबीच, अर्की एक अभिनेत्रीले नवाजुद्दीन झुटो मानिस भनेकी छन् । थिएटरकी कलाकार र अभिनेत्री सुनील राजवारले लामो फेसबुक स्टाटस लेख्दै भनेकी छन्, नवाजुद्दीनलाई महिलाको इज्जत गर्न आउँदैन।
नवाजले आत्मकथामा सुनीतालाई आफ्नो पहिलो प्रेमिका भनेका छन् । उनले कसरी मुम्बईमा सुनीता नामकी कलाकारसँग प्रेम भयो र एकदिन सम्बन्ध टुट्यो भनेर लेखेका छन्।
सुनीताले फेसबुक पोस्टमा नवाजले किताबमा आफ्नोबारे कैयौं झुट लेखेको उल्लेख गरेकी छन् । नवाजसँग ब्रेकअप गर्नुको असली कारण सुनीताले खुलाएकी छन्।
उनले स्टाटसमा नवाजलाई सम्बोधन गर्दै लेखेकी छन्-
'मैले तिम्रो फोन उठाउन छोडिदिएको थिएँ । किनकि तिम्रो बारेमा सोचेर मलाई घिन लाग्थ्यो । त्यस्तो स्थितिमा तिमीसँग के कुरा गर्थेँ !'
सुनीताले नवाजको बानी सहानुभूति बटुल्ने खालको भएको बताएकी छन् । नवाज कहिले आफ्नो रुपरङ र गरिबीको चर्चा त कहिले आफूले वाचम्यानको काम गरेको भनेर सहानुभूति बटुल्थे ।
सुनीताले नवाजको परिवारको आर्थिक अवस्था राम्रो रहेको उल्लेख गरेकी छन् । आफ्नो किताबमा नवाजले आफूलाई सुनीताले गरिबीका कारण छोडेको भनेर लेखेकोमा त्यसलाई खण्डन गर्दै उनले लेखेकी छन्- 'नवाजले आफू गरिब थिएँ, संघर्षमा जोतिएको थिएँ, त्यसै कारण मैले उनलाई छोडेँ भनेर आरोप लगाएका छन् । त्यसो भए म के थिएँ ? तिमीभन्दा गरिब त म थिएँ । तिमी त कम्तीमा आफ्नो घरमा बस्ने गर्थ्यौ । म त साथीको घरमा बसेर संघर्ष गरिरहेकी थिएँ।'
ब्रेकअपको खास कारण खोल्दै सुनीता लेख्छिन्- 'मैले तिमीलाई यस कारण छोडेको थिएँ, किनकि तिमी हाम्रो सम्बन्धलाई ठट्टा बनाउँदै व्यक्तिगत कुरा हामी दुवैलाई चिन्ने साथीहरुलाई सेयर गर्ने गर्थ्यौ । त्यसपछि तिमीले महिला र प्रेमबारे के सोच्छौ भनेर मैले थाहा पाएँ । मैले तिमीलाई तिम्रो गरिबीको कारणले होइन, तिम्रो गरिब सोचको कारण छाडेकी थिएँ । तिमीले आफ्नो आत्मकथाबाट साबित गरिदियौ, म जुन नवाजलाई चिन्थेँ, तिमी आज त्योभन्दा पनि गरिब छौ । तिमीलाई न त्यतिबेला महिलाको इज्जत गर्न आउँथ्यो, न त अहिले नै सिकेका छौ।'
नवाज दिल्लीको नेशनल स्कुल अफ ड्रामामा सुनीताका सिनियर थिए । सुनीताले 'मैं माधुरी दीक्षित बनना चाहती हुं', 'एक चालीस की लास्ट लोकल', 'संकट सिटी' जस्ता फिल्ममा काम गरेकी छन् । यसका साथै उनी 'ये रिश्ता क्या कहलाता है', 'शगुन', 'रामायण', 'हिटलर दिदी', 'सन्तोषी माता' लगायत टिभी सिरियलमा देखिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।