बनियानी, झापा– झापा अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान शुरु गरेको छ।
शनिबार आएको मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादव संयोजकत्वको चार सदस्यीय छानबिन समितिले आजदेखि अनसुन्धान शुरु गरेको हो। जिल्ला प्रशासन कार्यालयमा बिहान आयोजित सुरक्षा समितिको बैठकमा बालक मृत्यु प्रकरण र बिर्तामोड घटनाका बारेमा बुझेको र आजैदेखि अनुसन्धान शुरु गरिसकेको झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए। उनले भने, 'घटनाको सत्यतथ्य बुझ्न उहाँहरु बिर्तामोड गइसक्नुभएको छ।'
समितिमा नेपाल प्रहरीका रमेशकुमार भट्टराई, सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चिरञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हरिहर पौडेल रहेका छन्।
सम्बन्धित समाचार- बालक सिवाकोटीको हत्या भएको प्रहरी प्रतिवेदन
समितिले बिर्तामोड घटनाका बारेमा अनुसन्धान गरी सात दिनभित्र रायसुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने बताइएको छ।
असोज १४ गते अर्जुनधारा नगरपालिका ११ स्थित घरबाट हराएका ११ वर्षका बालक लक्ष्मण सिवाकोटीको शव १५ गते विर्तामोड १ बैसाबारीमा फेला परेको थियो। उनको हत्या भएको र हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै स्थानीयवासीले शुक्रबार दिनभर विर्तामोडमा प्रदर्शन गरेका थिए। प्रदर्शनपछि प्रशासनले लगाएको कर्फ्यु उल्लंघन गर्ने क्रममा प्रहरीको गोली लागी नरेश थापाको ज्यान गएको थियो। केही घाइते भएका छन्।
शनिबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका थापाको परिवारलाई रु १० लाख राहत उपलब्ध गराउन तत्काल गृह मन्त्रालयलाई अनुरोध गर्ने लगायतका आठ बुँदे निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।