काठमाडौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र समृद्धिका लागि माओवादी केन्द्र र वाम गठबन्धनको विकल्प नभएको बताएका छन्।
डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य तथा गोरखाका समाजसेवी वासु पोखरेल लगायत एक दर्जन नेता/कार्यकर्तालाई आज पार्टी प्रवेश गराउँदै उनले गोरखा वामपन्थी शक्तिको आधार क्षेत्र रहेको बताए।
माओवादी जनयुद्धको केन्द्रका रूपमा रहेको गोरखालाई आर्थिक, सामाजिक रूपमा विकासको उच्च शिखरमा पुर्याउने योजना आफूहरूसँग मात्रै रहेको उनको दाबी छ।
अध्यक्ष दाहालले डा भट्टराईका पछिल्ला कदमले स्वयं भट्टराई र नयाँ शक्तिलाई संकटमा पारिरहेको बताए।
'सानो समूहबाट मुलुकको समृद्धि र राजनीतिक भविष्य सम्भव छैन,' माओवादी प्रवेश गर्दै नेता पोख्रेलले भने, 'म विगतमा माओवादी केन्द्रमा नै सक्रिय थिएँ, बीचमा बाबुराम भट्टराईले केही गर्नुहुन्छ कि भन्ने ठानेर नयाँ शक्तिमा लागेँ। तर, नयाँ शक्ति आफ्नै अस्तित्वको संकटमा छ।'
माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नं. २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले नयाँ शक्तिबाट दिनहुँ माओवादी केन्द्रमा प्रवेशको लहर चलेको बताउँदै वाम गठबन्धनले जिते मात्र देशको स्थिरता र समृद्धि सम्भव हुने बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।