काठमाडौं- आर्थिक संकटका कारण उडान बन्द भएको सौर्य एयरलाइन्सले झन्डै तीन महिनापछि नियमित उडान थालेको छ।
गत मंसिर २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल सेवा शुल्क बापतको बक्यौता रकम नतिरेको भन्दै उडान बन्द गरिदिएको थियो। तर, त्यसभन्दा पहिल्यै मंसिर ११ गतेबाट सौर्यले नियमित उडान गर्न सकेको थिएन।
एयरलाइन्सले विमानस्थल कार्यालयलाई ४ करोड बक्यौता तिर्न नसक्दा उडान बन्द भएको थियो। अहिले सौर्यले विमानस्थल कार्यालयलाई ५० लाख रुपैयाँ बुझाउँदै उडान सुरु गरेको हो। बाँकी साढे ३ करोडमध्ये ५० लाख केही दिने भित्रै दिने र २ करोड रुपैयाँ भने किस्ताबन्दीमा तिर्ने सहमति गर्दै उडान सुरु गरेको हो।
उडान बन्द भएको एयरलाइन्सका मालिक दीपक पोखरेलले ६२ करोड रुपैयाँमा भारतीय कुबेर ग्रुपअन्तर्गतको क्लब वान कम्पनीलाई एयरलाइन्स बिक्री गरेका थिए। योसँगै एयरलाइन्सले जनता बैंक तथा विभिन्न वित्तीय संस्थासँग लिएको ऋणको साँवा तथा ब्याज तिर्न सकेको थिएन। गत पुस २७ गते मात्रै जनता बैंकले रकम चुक्ताका लागि ३५ दिने सूचना प्रकाशन गरेको थियो।
नयाँ व्यवस्थापनले आजदेखि उडान सुचारु गरको एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले जनाकारी दिए। एयरलाइन्सले आज पहिलो दिने भैरहवा र विराटनगर उडान गर्ने तयारी गरेको हो। पहिलो फ्लाइट भैरहवा र दोस्रो फ्लाइट विराटनगर गर्ने सेड्युल रहेको उनले जानकारी दिए।
यसअघि पनि गत साउन २४ गते व्यवसायी श्याम अधिकारी, श्यामकृष्ण महर्जन र रामप्रसाद पन्थीले ६१ करोडमा सो एयरलाइन्स खरिद गरेका थिए। तर, एयरलाइन्स सञ्चालन गर्न नसकेपछि उनीहरुले खरिद बिक्री सम्झौता रद्द गरेका थिए।
यो पनि पढ्नुहोस्ः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।