काठमाडौ- त्रिशूली नदीमा बस खसी भएको दुर्घटना छानबिनका लागि सरकारले समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार उक्त छानबिन समितिमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी बलका वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक रहनेछन्।
मन्त्रालयले दुःखद् घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यात्रा गर्दा यात्रु वर्ग र सम्बद्ध सबै निकायले आ–आफ्नोतर्फबाट सावधानी अपनाउन र ट्राफिक व्यवस्थापनमा उचित ध्यान दिनसमेत मन्त्रालयले आग्रह गरेको छ।
राजविराजबाट काठमाडौँ आउँदै गरेको ना६ख १४६७ नंको यात्रुवाहक बस शनिबार बिहान ५:५५ मा धादिङको गजुरी गाउँपालिका–५ पोखरे खोलास्थित बांगेमोडमा अनियन्त्रित भई राजमार्गबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको थियो।
सो घटनामा ३१ जनाको घटानस्थलमै मृत्यु भएको र १६ जना घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।