काठमाडौ- सामसुङ मोबाइलका लागि नेपालको आधिकारिक बिक्रेता कम्पनीका सञ्चालक व्यापारी दीपक मल्होत्राले मोबाइल निर्यातबापत् दाबी गरेको भ्याट रकम तत्काल फिर्ता नपाउने भएका छन्। आइएमएस वर्ल्ड प्रालिका सञ्चालक मल्होत्राले मोबाइल निर्यातको झुठो विवरण पेस गर्दै दाबी गरेको १४ करोड रुपैयाँ तत्काल फिर्ता दिन नसकिने ठुला करदाता कार्यालयले जानकारी दिएको छ।
सर्वोच्च अदालतमा दर्ता भएको भ्याकेटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपनि मुद्दाको अन्तिम किनारा नभएकाले त्यसको टुङ्गो नलागेसम्म रकम निकासा नगर्ने पक्षमा करदाता कार्यालय पुगेको स्रोतले बताएको छ।
अन्तरिम छलफलका समयमा सर्वोच्चले भ्याट फिर्ता दिन मिल्ने वा नमिल्ने विषय फैसला हुँदा बोलिने भनेकाले करदाता कार्यालय यस्तो निष्कर्षमा पुगेको एक कर अधिकृतले बताए। अर्थ मन्त्रालय र आन्तरिक राजश्व विभागमा करदाता कार्यालयले सर्वोच्चको पत्रपछि राय मागेको थियो।
अदालतमा मुद्दा विचराधीन रहेकाले रकम फिर्ता गर्न हतार नगर्न मन्त्रालयले राय दिएपछि ठुला करदाता कार्यालयले यस्तो निर्णय गर्न लागेको हो।
मलहोत्राले आफ्नै कम्पनी खडा गर्दै निर्यात नै नगरेको मोबाइल वापतको भ्याट दाबी गर्दै १४ करोड ४८ लाख ३९ हजार ६ सय ६४ रुपैयाँ मूल्य अभिवृद्धि कर फिर्ताका लागि निवेदन दिएका थिए।
२०७५ साउन ७ गते दोस्रो पटक दिएको निवेदनमा समेत ठुला करदाता कार्यालयले फिर्ता दिन नमिल्ने जवाफ दिएको थियो।
व्यापारी मल्होत्राको कम्पनी आइएमएस वर्ल्डले नेपालमा सामसुङ कम्पनीको मोबाइल सेट आयात गर्दै आएको छ।
तर, मल्होत्राले आफन्तका नाममा दर्ता भएका थप तीन कम्पनीमार्फत् मोबाइल आयात गरेर निर्यात गरेको ठुला करदाता कार्यालयको अध्ययनमा खुलासा भएपछि भ्याट फिर्ता पाउने कार्य रोकिएको हो।
मल्होत्राले आइएमएस वर्ल्डसहित इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स प्रालिमार्फत् मोबाइल आयात र हिमालयन इलेक्ट्रोनिक्स प्रालिमार्फत निर्यात भएको देखाएका थिए।
ठुला करदाता कार्यालयले भ्याट फिर्ता गर्न इन्कार गरेपछि मलहोत्रा सर्वोच्च पुगेका थिए। सर्वोच्चको एकल इजलासवाट उनको पक्षमा आदेश समेत जारी भएको थियो। सर्वोच्चले एकतर्फी रुपमा अन्तरिम आदेश जारी गरेको दाबी गर्दै ठुला करदाता कार्यालयले पनि भ्याकेटमा निवेदन दिएको थियो।
मल्होत्राले शतप्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्ने उद्देश्यले दुई कम्पनी खडा गरेको ठूला करदाता कार्यालयले दाबी सर्वोच्चमा गरेको थियो।
सरकारले निर्यात प्रोत्साहन गर्न कच्चा पदार्थमा लागेको भ्याट फिर्ता दिने व्यवस्था गरेको छ। तर, मल्होत्राले यही प्रावधानलाई टेकेर आयात गरेको मोबाइल अर्को देशमा निर्यात गरेर भ्याट फिर्ता लिने गरेका उसको दावी थियो। ऐनअनुसार कुनै पनि सामान आयात गरी निर्यात गर्दा भ्याट फिर्ताका लागि तेस्रो कम्पनी हुनुपर्नेछ।
निर्यात गरेको भनी मल्होत्राले दाबी गरेका मोबाइल सेटहरु चीन, भियतनामलगायतका देशमा उत्पादन भएका हुन्। उक्त मोबाइल सेटहरु भारतको सामसुङ इन्डिया इलेक्ट्रोनिक्स प्रालिबाट आयात गरी युएईमा रहेको कम्पनी कृष्ण इन्टरनेसनल एफजेडई दुबईलाई बिक्री गर्ने गरेको देखाएका थिए।
ती सेट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमार्फत हवाई माध्यमबाट बिक्री गर्ने गरेको मल्होत्राले देखाएका थिए।
यसरी गरिएका थियो राज्यकोषको दोहन
मल्होत्राले आर्थिक वर्ष २०७२/०७३, २०७३/०७४ मा यही प्रक्रियाबाट शतप्रतिशत भ्याट फिर्ता लिँदै आएका थिए। त्यसैगरी २०७४/०७५ का लागि पनि उनले सोही प्रक्रिया अनुसार २०७४ साउनदेखि चैतसम्म मोबाइल निर्यात गरेको देखाएका छन्।
यसरी निर्यात गरेको भनिएको मोबाइल मल्होत्राको कम्पनी आइएमएस वर्ल्ड र इन्टिग्रेटेड मोबिलिटी सोलुसन्सबाट हिमालयन इलेक्ट्रोनिक्सले आन्तरिक खरिद गरेको देखाइएको थियो। आन्तरिक रुपमा खरिद गरे वापतको ११ करोड ४२ लाख २८ हजार १ सय ३८ रुपैयाँ भ्याट फिर्ताका लागि मल्होत्राले ठूला करदाता कार्यालयमा २०७५ जेठ १ गते निवेदन दिएका थिए। उक्त निवेदनमा ठूला करदाता कार्यालयले कुनै जवाफ दिएन।
ठूला करदाता कार्यालय मौन बसेपछि मल्होत्राले थप निर्यात गरेको दाबी गर्दै १४ करोड ४८ लाख ३९ हजार ६ सय ६४ रुपैयाँ मूल्य अभिवृद्धि कर फिर्ताका लागि २०७५ साउन ७ गते पुनः निवेदन दिए। उनले २०७४ साउन १ देखि जेठ मसान्तसम्म मोबाइल निर्यात गरेको दाबी गरी भ्याट फिर्ता माग गरेका थिए।
मल्होत्राको कम्पनीले बारम्बार भ्याट फिर्ताका लागि ताकेता गर्न थालेपछि ठूला करदाता कार्यालय झस्किएको थियो। आर्थिक ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी शतप्रतिशत भ्याट फिर्ता लिने गलत मनासाय रहेको भन्दै फिर्ता गर्न नमिल्ने उसले जवाफ दिएको थियो।
ठुला करदाता कार्यालयले ऐन बमोजिम ४० प्रतिशत कर फिर्ताको सुविधा उपयोग नगरी फर्जी काम गरी शतप्रतिशत नै रकम फिर्ता लिन लागेको ठहर गर्दै सर्वोच्चसम्म ठुला करदाता कार्यालय पुगेको थियो।
यो पनि पढ्नुहोस्ः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।