बुटवल– पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधनले पर्यटन क्षेत्रमा अपूरणीय क्षति भएको लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले बताएका छन्। लुम्बिनीको पर्यटन विकासका लागि एकचित्त भएर लागेका मन्त्री अधिकारीको हवाइ दुघर्टनामा परी भएको निधनले लुम्बिनीको पर्यटन विकासमा ठूलो धक्का लागेको उनीहरुले बताएका छन्।
‘लुम्बिनीसहित देशकै पर्यटन क्षेत्रमा केही गर्छु भन्ने व्यक्ति गुमाउँदा निकै पीडा भएको छ,’ पर्यटन व्यवसायी सञ्जय बजिमयले भने, ‘लुम्बिनीवासी मात्रै नभई देशैभरिका जनताको आशाको धरोहर ढलेको जस्तो भएको छ।’
मन्त्री अधिकारीको सहयोगका कारण लुम्बिनीमा पहिलो पटक बुद्धिस्ट इन्टरनेशनल ट्राभल्स मार्ट सफल भएको उल्लेख गर्दै बजिमयले उनलाई लुम्बिनीबासीले कहिल्यै भुल्न नसक्ने बतए । पर्यटनसँगै नेपालको उड्डयन क्षेत्रमा सकारात्मक कामको थालनी गर्ने मन्त्री गुमाउँदा पर्यटन व्यवसायीले एक असल अभिभावक गुमाएको महसुस भएको उनले बताए।
नेपाल एसोसियसन अफ ट्राभल्स एन्ड टुर्स एजेन्ट नाट्टा प्रदेश ५ का अध्यक्ष विष्णु शर्माले मन्त्री अधिकारी विकासप्रेमी भएको उल्लेख गर्दै उनी लुम्बिनीको अभिभावक रहेको बताए।
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अलमलमा पर्छ कि भन्ने आशंका थियो, तर त्यो आंशकालाई चिरेर मन्त्री अधिकारीले उदाहरणीय काम गरे,’ उनले अधिकारीलाई सम्झँदै भने, ‘यो कार्यलाई हामीले कदापी बिर्सन हुँदैन।’
पर्यटन व्यवसायी रवीन्द्र शर्मा घिमिरेले पर्यटन क्षेत्र बुझेको, पर्यटन क्षेत्रको विकास कसरी गर्ने भन्ने भिजन भएको व्यक्ति गुमाउँदा आफूहरुलाई पीडा भएको बताए।
‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जसरी पनि टुंग्याउने मन्त्री अधिकारीको धोको थियो, त्यो धोकोलाई अधुरै छाडेर जानु भयो,’ उनले भने, ‘उनको सपना साकार पार्न हामीले निर्माणाधीन गौतमबुद्ध बिमानस्थल र लुम्बिनी गुरुयोजनाको काम समयमै पूरा गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।