काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सविता पौडेलसहित बडादसैँअन्तर्गत फूलपातीको अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सहभागी भएका छन्।
नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ समारोह–२०८३ मा राष्ट्रपति पौडेललाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो। राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुन्।
समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो। सेनाले विभिन्न सैनिक परेड, राइफलबाट लहरे तथा एकठ्ठा र तोपबाट बढाइँ प्रस्तुत गरेको थियो।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोज शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए।
त्यस्तै, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।