काठमाडौं– नेपाली फुटबलको विकासका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र चिनियाँ फुटबल सङ्घबीच सहकार्य हुने भएको छ।
नेपाल भ्रमणमा रहेका चिनियाँ फुटबल सङ्घ र एन्फाबीच यससम्बन्धी सम्झौतापत्रमा बिहीबार आयोजित कार्यक्रममा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा चिनियाँ फुटबल सङ्घका अध्यक्ष डु चाउछाई र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच चार वर्षे सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा दुवै देशको राष्ट्रिय टोलीको आदानप्रदान, पूर्वाधार विकासमा सहकार्य र प्राविधिक विकासमा चीनले नेपाललाई सहयोग गर्ने उल्लेख छ। त्यसैगरी दुईदेशबीच मैत्रीपूर्ण खेल खेलाइने सम्झौतामा उल्लेख छ।
सम्झौतापत्रमा हस्ताक्षरपछि एन्फा अध्यक्ष शेर्पाले दुई छिमेकीबीचको सहकार्य नेपाली फुटबल विकासका लागि कोशेढुङ्गा सावित हुने बताए। अध्यक्ष शेर्पाका अनुसार अब नेपालमा हुने प्रतियोगितामा चीनको प्रान्तिय र तेस्रो डिभिजनका क्लबले सहभागिता जनाउने छन्। “पूर्वाधार विकासमा चीनले गर्न सक्ने सहयोगका क्षेत्र पहिचान गरी हामी निकट भविष्यमै चीनको भ्रमण गर्ने र त्यसमा विस्तृत कार्ययोजना समेत लैजान्छौँ, आजको सम्झौता भनेको पहिलो चरणको हो”, उनले भने।
चिनियाँ फुटबल सङ्घका अध्यक्ष डु चाउछाइले नेपाल र चीनबीच फुटबलको विकासमा आज भएको सम्झौता रणनीतिक साझेदारी भएको बताए। नेपाल र चीनबीच सदियौँदेखि सांस्कृतिक तथा दौत्य सम्बन्ध रहेको उल्लेख गर्दै उनले सम्झौताले दुई मुलुकको राष्ट्रिय फुटबल टोलीबीच राम्रो सम्बन्ध बनाउन आधार तयार भएको बताए। “नेपालबाट तिब्बत नजिक छ, हामी तिब्बतसँग जोडिएर फुटबलमा धेरै काम गर्न सक्छौँ,” उनले भने। फुटबल विकासमा सहकार्य गर्न अध्यक्षसहितको तीन सदस्यीय चिनियाँ टोली बिहीबार नेपाल आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।