काठमाडौं- थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोट प्रतियोगितामा दोस्रो स्थान हात पारेको नेपाली टिम बिहीबार स्वदेश फर्किएको छ।
उपविजेता भएर फर्किएको नेपाली टिमलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषदसहित क्रिकेटका सरोकारवाला कोहि पनि उपस्थित थिएनन्।
नेपाली क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले स्वागतका लागि कोहि आउछन् भन्ने आसा नगरेको प्रतिक्रिया दिइकी छिन्।
'हामीलाई स्वागतका लागि कोहि आउछन् भने आसा थिएन। रनरअप भएर आउदा सरकारबाट कोहि आएको भए राम्रै फिल चाहि हुने थियो,' उनले भनिन्,'महिला र पुरुष क्रिकेटलाई तुलाना गर्नु हुन्न जस्तो लाग्छ। सरकार र व्यवस्थापन पक्षले सोच्ने कुरा हो। दुवै एकै क्षेत्र हो। दुवैले एकै किसिमको मिहिनेत गरेको हुन्छ।'
उनले छोटो समयमा महिला क्रिकेट टिमले क्षमता प्रमाणित गरेको बताइन्। उनले भनिन्,'हामीले कम समयमा नतिजा दिएर क्षमता प्रमाणित पनि गरिरहेका छौं। यो कुरा सोचेर व्यवस्थापन वा खेलकुद परिषदले सोचेर योजना बनाउनु हुन्छ भने हाम्रा लागि राम्रो हुन्छ। तर यस्तै तरिका हो भने केहि वर्षमा 'महिला क्रिकेट छ?' भनेर प्रश्न गर्नुपर्छ।'
उनले थाइल्यान्ड राम्रो टिम भएको बताउँदै प्रतियोगितामा राम्रो खेलेको प्रतिक्रिया दिइन्। 'हामीले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्न एक वर्ष लाग्छ। त्यहि अनुसार तयारी गर्नु पर्छ। हामीले नतिजालाई सकारात्मक रुपमा लिएका छौं। कतिपय अवस्थामा गर्व गर्नलायक प्रदर्शन गरेका छौं,' उनले भनिन्,'अहिले राम्रो गरिरहेका छौं। हामीलाई एक्सपोजर चाहिन्छ। घरेलु संरचाना कमजोर भयो भन्ने हो। अब घरेलु संरचना बलियो र राम्रो व्यवस्थापन भएमा हामी आफ्नो वेस्ट दिन्छौं।'
महिला क्रिकेट टिमका प्रशिक्षक विनोद दासले पछिल्लो दुई महिना राम्रो खेलेको बताए। उनले खेलेका १२ खेल मध्ये २ खेलमा मात्र पराजित भएको बताउँदै वरीयतामा १४ औं स्थानमा रहनु उपलब्धि भएको बताए। उनले केहि महिनाको तयारीले युएई, हङकङ र चीन जस्ता टिमलाई पराजित गर्नुलाई सकारात्मक रुपमा लिनु पर्ने बताए। 'एउटा मोमेन्टम बनाएका छौं, यो जारी राख्नु पर्छ,' उनको भनाइ छ,'महिला क्रिकेटमा लगानी बढायौं भने अझ राम्रो खेल्नेछौं।'
थाइल्यान्डमा भएको छनोटमा शीर्ष एक टिमले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान थियो। अन्तिम खेलमा आयोजक थाइल्यान्डले युएईलाई ५० रनले पराजित गर्दै छनोट प्रतियोगितामा स्थान पक्का गरेको थियो।नेपालले ६ खेलमध्ये ५ जित हात पारेर १० अंक जोड्यो। नेपाल दोस्रो स्थानमा रह्यो। थाइल्याण्ड सबै खेल जित्दै १२ अङ्क जोडेर शीर्ष स्थानमा रह्यो। नेपालको ग्लोबल छनोट यात्रामा मुख्य बाधक थाइल्याण्ड नै बन्यो। राउण्ड रोविनको आधारमा भएको छनोटको ६ खेलमा पाँच जीत निकाल्न सफल नेपाल थाइल्याण्डसँग नै पराजित भएको थियो। गत बिहीबार भएको दोस्रो खेलमा थाइल्याण्डसनसँग ५८ रनले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।