एजेन्सी- इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको चौथो एकदिवसीय खेलमा रेकर्डैरेकर्ड बनेको छ। बुधबार राति सेन्ट जर्जमा भएको खेलमा दुई टिमका ३ खेलाडीले शतक बनाए भने खेलमा छक्काको वर्षा भयो। रोमाञ्चक खेलमा इंग्ल्यान्ड २९ रनले विजयी भयो भने सिरिजमा २-१ को अग्रता लियो।
पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेटको क्षतिमा ४ सय १८ रन जोड्यो। खेलमा इंग्ल्यान्डका लागि जोस बटलरले १ सय ५० रन र कप्तान इयान मोर्गानले १ सय ३ रन जोडे।
खेलमा इंग्ल्यान्डले एकै इनिङमा सबैभन्दा बढी छक्का हिर्काउदै विश्व रेकर्ड बनायो। इंग्ल्यान्डका लागि एकै इनिङमा बढी छक्का हिर्काउने क्रममा बटलरले १२ छक्का हिर्काएका थिए। मोर्गनले ६ छक्का, जोनी बिस्ट्रले ४ छक्का र एलेक्स हल्सले २ छक्का हिर्काएपछि इंग्ल्यान्डले एकै इनिङमा २४ छक्का हिर्काएर विश्व रेकर्ड बनाएको थियो।
४ सय १९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४८ ओभरमा ३ सय ८९ रनमा अलआउट भयो। ४८ ओभरमा इंग्ल्यान्डका अदिल रसिदले चार विकेट लिएपछि वेस्ट इन्डिज पराजित हुन बाध्य भयो। वेस्ट इन्डिजका लागि क्रिस गेलले १ सय ६२ रन जोडेका थिए। उनले ९७ बलमा ११ चौका र १४ छक्का प्रहार गरेका थिए। योसँगै २५ एकदिवसीय शतक प्रहार गरेका गेलले एकदिवसीय खेलमा १० हजार रन पूरा गरेका थिए।
खेलको दुवै इनिङमा गरी ४६ छक्का प्रहार भयो। जसमा इंग्ल्यान्डले २४ र वेस्ट इन्डिजले २२ छक्का हिर्काए। दुवै इनिङको योगफल ८ सय ७ रन भयो। यो एकदिवसीय खेलको तेस्रो ठूलो योगफल हो। १२ छक्का प्रहार गरेका बटलर इंग्ल्यान्डका लागि एकै इनिङमा बढी छक्का हिर्काउने खेलाडी बने। क्रिस गेलले खेलमा ५१ बलमा शतक हिर्काएका थिए। उनको यो करिअरैकै छिटो शतक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।