काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) मा प्लेयर अफ दि म्याच बनेका छन्। बुधबार लाहोर क्वालन्डर्सको जितमा चार विकेट लिएका सन्दीप प्लेयर अफ दि म्याच बनेका हुन्।
सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै लाहोरले बुधबार दुबईमा भएको खेलमा क्वेउटा ग्लाडिएटर्सलाई ८ विकेटले हरायो। शीर्ष स्थानको ग्लाडिएटर्स विरुद्धको जितसँगै ६ खेलबाट ३ जितसहित ६ अंक जोडेको लाहोर अंक तालिकाको चौथो स्थानमा उक्लियो।
सन्दीपले उत्कृष्ट बलिङ गरेपछि खराब ब्याटिङ गरेको ग्लाडिएटर्स १९.१ ओभरमा १ सय ६ रनमै समेटिएको थियो। १ सय ७ रनको लक्ष्य लाहोरले २१ बल बाँकी छदा २ विकेटको क्षतिमा पार गर्यो। लाहोरका लागि एबी डिभिलियर्सले नटआउट ४७ र हरिस सोहिलले नटआउट ३३ रन जोडे।
त्यसअघि सन्दीपले ४ ओभरमा ४ विकेट लिँदा १० रनमा मात्र खर्चिए। यो प्रदर्शन सन्दीपको टी-२० मा अहिलेसम्मकै उत्कृष्ट हो। सन्दीपले कुनै बाउन्डि दिएनन् भने आफूले गरेको २४ बल मध्ये १५ बल डट फ्याँकेका थिए। यसअघि सन्दीपको टी–२० उत्कृष्ट प्रदर्शन ३ विकेट लिएर ११ रन दिनु थियो।
सन्दीपले पहिलो विकेटको रुपमा ग्लाडिएटर्सका ओपनर सेन वाट्सनलाई चौथो ओभरमा ७ रनमा एलबिडब्लूको धरापमा पारे। छैटौं ओभरको पहिलो बलमा सन्दीपले रोली रस्सोलाई डेभिड विइसीको हातबाट ८ रनमा क्याच गराए। त्यही ओभरको अन्तिम बलमा उनले उमर अकबललाई १ रनमा बोल्ड गरे।
सन्दीपले चौथो विकेट डानिस एजाजको लिए। उनले एजाजलाई १ रनमा हारिस सोहिलको हातबाट क्याच गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।