काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेलमा कुवेतलाई ३० रनले पराजित गरेको छ। जारी प्रतियोगितामा नेपालले हात पारेको यो पाँचौ जित हो। नेपालको जितमा कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक गरिन्।
जितसँगै नेपाल ६ खेलबाट १० अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको आयोजक थाइल्यान्डको ५ खेलबाट १० अंक छ। प्रतियोगिताको अन्तिम खेलमा थाइल्यान्ड र युएईबीच केहिबेरमा प्रतिस्पर्धा हुनेछ। खेलपछि आइसिसी विश्वकप छनोटमा छानिने शीर्ष एक टिमको टुंगो लाग्नेछ।
थाइल्यान्डलाई छनोट हुन जित पर्याप्त छ। युएईका लागि पनि जित हात पारे छनोट हुने सम्भावना रहनेछ। नेपालका लागि भने युएईले जित हात पारेको अवस्थामा थाइल्यान्ड र युएईलाई रनरेटमा पछि पार्नु पर्ने अवस्था छ। जुन सम्भावना न्यून छ, किनकी युएई र थाइल्यान्ड रनरेटमा नेपालभन्दा अघि छन्। त्यसैले नेपाल प्रतियोगिताबाट औपचारिक रुपमा मात्र बाहिरिन बाँकी छ।
अंक तालिका

बुधबार बैंककमा भएको खेलमा नेपालले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ९ विकेटको क्षतिमा ८६ रन मात्र बनाउन सक्यो। कुवेतका लागि मार्यम ओमारले २९ रनको योगदान दिइन्।
कुवेतलाई सस्तैमा रोक्न नेपालकी कप्तान रुबिना क्षेत्री बेलवासे र करुणा भण्डारीले ३–३ विकेट लिए। रुबिनाले इनिङको अन्तिम ३ बलमा विकेट लिँदै ह्याट्रिक गरिन्। उनले २० ओभरको चौथो बलमा खादिजा खालिललाई १ रनमा बोल्ड गरिन्। पाँचौ बलमा महिदा जुबेलीलाई बोल्ड गरेकी रुबिनाले अन्तिम बलमा जीफा जिलानीलाई पनि बोल्ड गर्दै ह्याट्रिक पूरा गरिन्।
नेरी थापा र करुणा कुवँरले १–१ विकेट हात पारे।
१४ ओभरसम्म १ विकेट गुमाएर ६३ रन जोडेको कुवेतलाई रोक्ने क्रममा नेपालले १५ ओभरमा ४ बलको बीचमा ३ विकेट लियो। १५औं ओभरको पहिलो बलमा प्रियदा मुरालीलाई १४ रनमा विन्दु रावलले रनआउट गरिन्। अर्को बलमा करुणा भण्डारीले एसएल गोमेजलाई डकआउट गरिन्। लगत्तै अना तारिक पनि आउट भएपछि नेपालमाथि दबाब कम भएको थियो। १७ ओभरमा कुवेतका लागि सर्वाधिक रन बनाएकी मार्यम ओमारलाई पनि करुणला नै आउट गरेपनि खेलमा नेपाल हाबी भएको थियो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १६ रन जोड्यो। नेपालका लागि विन्दू रावलले नटआउट २८ रन जोडिन्। उनले ४९ बलमा १ चौका हिर्काइन्। आक्रामक ब्याटिङ गरेकी कप्तान रुबिना क्षेत्री बेलवासेले १३ बलमा ३ चौका हिर्काउदै २२ रन जोडिन्। नेरी थापाले १९ बलमा ३ चौकाको मद्दतमा १९ रन नै जोडिन्। ओपनर काजल श्रेष्ठले १८ रन जोड्दा अन्य खेलाडी दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङम कुवेतकी मार्यम ओभरमा र प्रियदा मुरलीद्ये २–२ विकेट लिए।
यसअघि नेपालले पाँचौ खेलमा नेपालले चीनलाई ५ रनले पराजित गरेको थियो। त्यसघि हङकङलाई ४ विकेटले हराएको नेपालले तेस्रो खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो। नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको थियो। दोस्रो खेलमा भने नेपाललाई आयोजक थाइल्यान्डले ५७ रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।